बाँधेकै ठाउँमा गाई मर्न थाले । गाईलाई दिने दाना, घाँस र पराल सकिएपछि श्रमिक पनि पिरलोमा परे । दुहुना गाई र ससाना बाच्छाबाच्छीको बिजोक हेर्नै नसकिने छ । गाईगोठमा काम गर्ने श्रमिकले तलब नपाएको पनि महिनौँ भयो । सहकारीको बचत रकम अपचलन, ठगी र दुरुपयोगको प्रताडना मान्छेले मात्रै होइन, अबोध पशुले पनि भोग्नु परिरहेको छ ।
ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका वडा नं. १२ मा सञ्चालन गरेको लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टरमा पालिएका ४१५ वटा गाईको बिजोक भएको छ । लालीगुराँस बहुउद्देश्यीय सहकारीका चार हजार ५२८ बचतकर्ताको सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपैयाँ अपचलन र ठगी हुँदा बचतकर्तासँगै गाई पनि सास्ती भोग्न बाध्य भएका हुन् ।
लालीगुराँस बहुउद्देश्यीय सहकारीले १६ बिघा जग्गा लिएर भवन निर्माण गरी ४१५ वटा गाई पालेको छ तर सहकारीको बचत रकम सहकारीको सिद्धान्त विपरीत अन्यत्र लगानी गरी अपचलन गरेको अभियोगमा २०८० फागुन २९ गते सरकारले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
गाई फार्म सञ्चालन गर्ने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले दुग्ध पदार्थ बिक्रीबाट उठेको रकम लिए पनि त्यहाँ काम गर्ने श्रमिकले तलब पाएका छैनन् । उक्त सहकारी संस्था समस्याग्रस्त भए पनि सहकारीको सम्पत्ति विवरण खोज्ने क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको टोली खैरहनी पुगेको थियो ।
समितिको कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेलले अनुगमनका व्रmममा सहकारीले सञ्चालन गरेको गाई फार्मको अवस्था दयनीय देखेपछि बिक्री र लिलामी प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘१० वटा गाई मरेको पाइयो । पशु सेवा कार्यालयको टोलीलाई अध्ययन र निरीक्षणका लागि पठाउँदा ११९ वटा गाईमा बाँझोपन र अनुत्पादन भएको पाइयो । अरू २६८ वटा दुहुना गाई र बाच्छाबाच्छी छन् । तिनीहरूको व्यवस्थापन गर्ने तयारीमा समिति छ ।’
गाई फार्मका प्रशासन अधिकृत कृष्णबहादुर भण्डारीले भदौ १२ गते नै समितिको कार्यालयलाई पत्र लेख्दै ४९ गाई बाँझोपनका कारण अनुत्पादक भएका कारण हटाउने निर्णय गरिदिन आग्रह गरेका थिए । सदस्यसचिव पौडेलका अनुसार बाँझोपन भएका गाईसमेत गोठमा राख्दा दुहुना गाईलाई पर्याप्त दाना र घाँस दिन समस्या भएको छ ।
यसअघि कात्तिक २७ गते पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पशु सेवा कार्यालय चितवनका वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले गाई फार्मको अध्ययनका लागि विज्ञ र प्राविधिक पठाएर ११९ वटा कोरली बाच्छी अनुत्पादक भएको र हटाउन उपयुक्त हुने विवरण समितिको कार्यालयलाई पठाएका थिए ।
गाई फार्ममा २२ जना कर्मचारी कार्यरत छन् । लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टरबाट दुध र गोबरमल बिक्री गरेको रकम पनि भुक्तानी भइसकेको छैन । सेन्टरका प्रशासन अधिकृत भण्डारीका अनुसार चितवन अर्गानिक बायो फर्टिलाइजर एवं दिव्य अर्गानिक फर्टिलाइजरको २७ लाख ४० हजार ८८५ रुपैयाँ, अर्गानिक बायो फर्टिलाइजरको एक लाख ५८ हजार, आधुनिक डेरीको तीन लाख ३० हजार, लालीगुराँस डेरी उद्योगको ४१ लाख १३ हजारसहित ८२ लाख ५५ हजार रुपैयाँभन्दा बढी बक्यौता थियो ।
सदस्य सचिव पौडेलका अनुसार बक्यौतामध्ये २७ लाख रुपैयाँ उठेको छ । उनले भने, ‘गाईको दानापानीका लागि तीन लाख रुपियाँ समितिले दिएको छ । गाई फार्मबाट भएको आम्दानी सहकारीका सञ्चालकले लिने गरेको जानकारी आएको छ तर श्रमिकको तलब र गाईलाई दानापानी दिन अहिले आर्थिक अभाव छ । दुहुना हुन् कि अरू हुन्, दाम्लोमा बाँधेकै ठाउँमा मर्न दिनुभएन । त्यसैले अब पुनः छलफल गरेर गाई फार्मको व्यवस्थापनका सन्दर्भमा निर्णय लिन्छौँ ।’
सहकारीका अध्यक्ष अमरदास श्रेष्ठसहित सहकारी सञ्चालक असार दोस्रो साता पक्राउ परे पनि छुटिसकेका छन् । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुरको ताल्छीखेलमा लालीगुराँस हस्पिटल, शङ्खमूलमा लालीगुराँस उच्च मावि कलेज, सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडसहित घरजग्गामा समेत लगानी गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
अशोक अधिकारी । काठमाडौं