पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘हिजो साँझबाट पश्चिमी भूभागमा बादल प्रवेश गर्न सुरु गरिसकेको छ । त्यसको प्रभाव स्वरुप आज र भोलि वर्षा र हिमपात हुने हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, ‘आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपात र वर्षा हुनेछ ।’ हाल नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ ।
मौसमविद् मानन्धरका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार काठमाडौंमा आज बदली मात्र हुनेछ ।
काठमाडौंमा आज बिहान ५ः४५ को न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस छ । दिउँसो १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमबाट पूर्वतर्फ सर्दै जाँदा भोलि भने काठमाडौंमा वर्षाको सम्भावना छ । भोलि काठमाडौंसँगै मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मानन्धर भन्छिन्, ‘हल्का वर्षा मात्रै हुने हो । ठूलो वर्षा कतै पनि हुने सम्भावना छैन ।’ उनका अनुसार बुधबारबाट मौसम क्रमिक रूपमा सफा हुँदै जानेछ । पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएपछि मौसम सफा हुने उनको भनाइ छ । बादल, वर्षा, हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं