सूचनाको शक्ति - The Power Of Information

        

सीआइबीले भन्यो, ‘अनलाइन ठगीबाट जोगिनु’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पछिल्लो समय अनलाइनबाट हुने ठगीबाट जोगिन अनुरोध गरेको छ । सीआइबीले विज्ञप्ति जारी गर्दै केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमो लगायतबाट फोन गरी डिजिटल वालेट तथा बैंक तथा वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आमसर्वसाधारणलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको जनाएको छ ।

त्यस्ता लोभमा नफस्न सीआइबीले अनुरोध गरेको छ । सीआइबीले इसेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग गर्नेहरूसँग सावधानी हुन अनुरोध गरेको छ ।

सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा ट्रान्सफर हुने भनी सजग पनि गराएको छ । यस्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईंलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सीआइबीले अनुरोध गरेको छ ।

अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको प्रहरीले जनाएको छ । यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म पाँच सयभन्दा बढी फोन नम्बर सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेज नउठाउन तथा उत्तर नदिन पनि सीआइबीले सबैमा अनुरोध गरेको छ । सीआइबीले हालैमात्र पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २० पुष २०८१, शनिबार ०९:०९

लोकप्रिय