राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पछिल्लो समय दिनहुँजसो भूकम्प/परकम्पको विवरण सार्वजनिक गरिरहेको छ । पुस महिना लागेयता शुक्रबार बिहानसम्म मात्र केन्द्रले ११ भूकम्प/परकम्पको विवरण सार्वजनिक गरेको छ । यी ११ मध्ये सबैभन्दा ठूलो पुस ६ गते बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्युडको भूकम्प थियो ।
सबैभन्दा सानो पुस १४ गते बिहान ५ बजेर ९ मिनेटमा कालीकोटको ओडानकु आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का थियो । अरू नौ भूकम्प/परकम्प पनि ३.७ देखि माथि र ५ म्याग्निच्युडभन्दा मुनिका छन् । केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार, पुस २ गते बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।
पछिल्लो धक्का शुक्रबार (पुस १९) बिहान ८ बजेर २ मिनेटमा मुगुको लुमा आसपास केन्द्रविन्दु भएको ४.४ म्याग्निच्युडको छ । यी ११ मध्ये १० धक्का पश्चिम नेपालमा मापन गरिएको हो । एउटा धक्का भने बिहीबार (हिजो) दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रविन्दु भएको ४.८ म्याग्निच्युडको थियो ।
‘यस्ता भूकम्पहरू दैनिक नेपालमा गइरहेका हुन्छन् । तर, विगत एक महिनाको अवधिमा ४ (म्याग्निच्युड) भन्दा ठूला भूकम्प केही बढी आएको हामी देख्छौँ,’ केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले भनेका छन् । नेपालमा हाल १.५ वा २ म्याग्निच्युडदेखि माथिका भूकम्प मापन हुन्छ । त्यसका निम्ति देशभर ४२ स्टेसन छन् ।
केन्द्रले सबै धक्काको विवरण सार्वजनिक गर्दैन । अर्थात्, केन्द्रले ४ आसपास वा त्यसदेखि माथिका भूकम्प÷परकम्पको विवरण मात्र सार्वजनिक गर्दै आएको छ । त्यसो त केन्द्रले गएको मंसिर ६ गते राति १० बजेर ४६ मिनेटमा काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएको २.६ म्याग्निच्युडको धक्काबारे पनि जानकारी गराएको थियो ।
नेपालमा औसत दैनिक १० भूकम्प मापन हुने गरेको उनले जानकारी दिए । ती सबै धक्का मानिसलाई महसुस हुँदैन । खासगरी ३ वा ४ म्याग्निच्युडदेखि माथिका भूकम्प मानिसले महसुस गर्छन् । नेपालमा औसत दैनिक १० भूकम्प स्वाभाविक प्रक्रिया भएको उनले बताए । कुनै ठूलो भूकम्प गएको समयमा भने त्यसको परकम्प बढी हुने गरेको उनले जानकारी दिए ।
सानातिना धक्का मापन भइरहनुलाई त्यो ठाउँ भूकम्पीय जोखिम क्षेत्रका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ । ‘त्यहाँ भूकम्पीय शक्ति जम्मा भइरहेको छ अहिले र त्यसले कुनै समय त्यहाँ ठूलो भूकम्प जान्छ है भन्ने कुराको संकेत गर्छ,’ उनले भने । पश्चिम नेपालमा ५०० वर्षयता ठूलो भूकम्प नगएको भूकम्पविद्ले बताउँदै आएका छन् ।
त्यहाँ महाभूकम्प जान सक्ने शक्ति त्यहाँ सञ्चित भइरहेको छ । पछिल्लो समयका सानातिना धक्काले ठूलो भूकम्पको जोखिम कम नगर्ने उनले बताए । यस्ता धक्काले दिन वा समय किटान गरेर ठूलो भूकम्प आउनै लाग्यो भन्ने पनि संकेत नगर्ने भूकम्पविद् अधिकारीले स्पष्ट पारे ।
भिडियो हेर्नोस्
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं