सूचनाको शक्ति - The Power Of Information

        

जलहरी भ्रष्टाचारमा गोलमटोल फैसला, क्रुद्ध बन्यो अख्तियार

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर

पशुपतिमा सुनको जलहरी भ्रष्टाचार प्रकरणको फैसलामा विशेष अदालतबाट आश्चर्यजनक फैसला आएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत जाने तयारी गरेको छ । जलहरी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले उल्टो ‘स्वच्छता र समानताको सिद्धान्त परिपालना नभएको’ भन्दै फैसलामा टिप्पणी गरेपछि अख्तियार क्रुद्ध बनेको छ ।

जलहरी निर्माणका लागि नेपाल राष्ट्र बैंकबाट ल्याइएको सुनमा चरम भ्रष्टाचारको प्रश्न उठाउँदै दायर मुद्दामा अख्तियारलाई हराइएपछि सर्वोच्चमा पुनरावेदन दिने तयारी भएको हो । विशेषले भने झैं समान भूमिकामा रहेका, समान जिम्मेवारी लिएका एकै स्तरका व्यक्तिमाथि कसैमाथि मुद्दा चलाउने र कसैमाथि नचलाउने निर्णय गरेको भनेर मुद्दा चलाउने बेला अख्तियारको पनि आलोचना भएको थियो ।

त्यतिबेला अनुसन्धानमाथि प्रश्न उठे पनि मुद्दा नै खारेज हुने अवस्था नरहेको भनेर अदालत बाहिर पनि फैसलामाथि टिकाटिप्पणी चलिरहेको छ । २०८१ साल वैशाख १८ गते भएको फैसलाको पूर्णपाठ विशेष अदालतबाट आठ महिनापछि तयार भएको छ । पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणका लागि किनेको १०१ किलो सुनमा घोटाला भएको उजुरीका आधारमा अख्तियार अघि बढेको थियो ।

सुनको जलहरी निर्माणका कोषले ५० करोड रूपैयाँ खर्च गरेको थियो भने सरकारले ३० करोड रूपैयाँ दिएको थियो । जलहरी बनाउँदा सुनमा चाँदी, तामा, जिंक लगायतका धातु मिसाएर वजन पुर्याएको भन्ने दाबी उजुरीमा थियो । १४९१ ग्राम चानचुन सुन गायब पारिएको दाबी अख्तियारको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले प्राविधिक कारण देखाएर अभियोगपत्र खारेज गर्दै सबै प्रतिबादीलाई ‘क्लिन चिट’ दिएको थियो ।

अख्तियारको मुद्दा महाशाखाका एक अधिकारीले जलहरी बनाउनेक्रममा धुलोमा मिसिएको र पछि फेला परेको ६२३ ग्राम सुनको हिसावबारे फैसलामा गलत अर्थ लगाइएको छ । अख्तियारलाई जसरी पनि हराउने मानसिकता देखिएको प्रश्न फैसलामाथि उठाइएको छ । उक्त सुन पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले पछि भेटिएको भन्ने दाबी गरेका थिए ।

घोटालाको उजुरीका आधारमा अख्तियारले गरेको स्थलगत अध्ययनपछि कोषका पदाधिकारी स्वयम्ले जलहरी निर्माणमा प्रयोग भएको टुक्रा र धुलो सुन संकलनपछि गालेर हेर्दा ५३ तोला सुन भेटिएको भनेर मुचुल्का भएको थियो । कोषका पदाधिकारीकै शंकास्पद गतिविधि देखिएको भनेर त्यतिबेलै सबैतिर प्रश्न उठाइएको थियो ।

‘मुद्दा चलाइएका प्रतिबादी दोषी हुन् कि निर्दोष हुन भनेर विश्लेषण नगरी अनुसन्धानमै असमानता भयो भन्नेतिर विशेषको फैसला मोडिएको छ,’ अख्तियारका अधिकारी भन्छन्, ‘अदालतले हिसाबमा ५८ ग्राम सुनमात्रै फरक परेको भन्ने छ । ५८ ग्राम मात्रै हो भने पनि थोरै भन्ने नाममा कसरी सफाई दिन मिल्छ ? सुनजस्तो कुरा ५८ ग्राम पनि सानो भन्न मिल्दैन । अर्को कुरा अख्तियारले अदालतले अहिले भने अनुसार गरेकै भए पनि अर्को छिद्र खोतल्थ्यो ।’

एक क्विन्टलभन्दा बढी सुन पगालेर जलहरी बनाउँदा त्यति फरक पर्नुलाई अदालतले जायज भनेको छ । फैसलामा तथ्य प्रमाणको तोडमोड र गोलमटोल व्याख्या भएको दाबी अख्तियारका अधिकारीको छ । तथ्य वङ्ग्याएर फैसला आएको भन्दै अख्तियार असन्तुष्ट बनेको हो । फैसलाको पूर्ण पाठ आइसकेकाले चाँडै सर्वोच्चमा पुनरावेदन गर्ने तयारीमा अख्तियार छ ।

अख्तियारले कोषका तत्कालीन कोषाध्यक्ष डा.मिलन थापा, सदस्य सचिव प्रदिप ढकाल र विशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पर्यटनमन्त्री भानुभक्त ढकाल नेतृत्वको पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले गर्भगृहमा रहेको पुरानो जलहरीमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार १५:३१

लोकप्रिय