व्यवसायिक रुपमा सञ्चालित अटो रिक्साको संख्या बृद्धि हुन थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जभाभावी अव्यवस्थित ढंगले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलिया बताउँछन् ।
‘अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रति सचेतनाको कमि भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ,’ उनले भने, ‘भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा र मुख्यत पूर्व–पश्चिम राजमार्गमै केन्द्रित भइदिँदा समस्या भयो ।’
प्रमुख थपलियाले अटो रिक्सालाई नियमन गर्न कार्यविधि नभएकाले यसमा स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने बताए । अव्यवस्थित रुपमा सञ्चानल गरिएका अटो रिक्सालाई कानुनको दायरामा ल्याई नियमन गर्नुपर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ ।
‘सिरहाको सदरमुकाल, लहान, गोलबजार, मिर्चैयालगायत बजार क्षेत्रमा वास्तविक क्षमता भन्दा बढी संख्यामा अटो रिक्सा सञ्चालित छन् । दुर्घटनाको स्थिति हेर्दा काहलीलाग्दो छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘अटो रिक्साको नियमन र बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला नजुट्ने हो भने स्थिति भयावह हुनसक्छ ।’
पछिल्लो समय सिरहामा अटो रिक्सा ठूलो संख्यामा भित्रिरहेका छन् । ट्रेड युनियन महासंघ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतिका अनुसार सिरहाको लहानमा मात्रै करिब तीन हजारको संख्यामा अटो रिक्सा सञ्चालित छन् । जुन सडकको क्षमताभन्दा तीन दोब्बरले बढी हो ।
सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रुपमा जभाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उप्रेतिको भनाइ छ । चाहिनेभन्दा बढी भएपछि रिक्साले बजार नै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको इलाका प्रहरी कार्यलय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोती बताउँछन् ।
‘सरकारी नीति र प्रष्ट निर्देशिका बन्न नसक्दा यो सवारीसाधन सबैको टाउको दुखाइ बनेको छ,’ उनले भने, ‘बजारमा रिक्साले आतंक् सिर्जना गरेको छ । नियमन गर्नको लागि स्पष्ट नीति र नियम छैन । रिक्सा चालकलाई लाईसन्सको व्यवस्था पनि छैन । यसले गर्दा दुर्घटना भएपछि कर्तव्य ज्यान मुद्दा आकर्षित हुन्छ ।’
उनले यातायात कार्यालयले निश्चित मापदण्ड बनाएर रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिए । बिना दर्ता र अव्यवस्थित रूपमा लहान क्षेत्रमा सञ्चालन हुँदै आएका अटो ट्याम्पो तथा ई–रिक्सालाई व्यवस्थापन र नियमन गर्न नगरपालिकाले कार्यविधि तयार पारि लागु गर्ने प्रक्रियामा रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । उनले रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने विश्वास व्यक्त गरे ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सिरहा