सूचनाको शक्ति - The Power Of Information

        

झारपातले कुरूप बन्दै राराताल

मुगुमा रहेको रारा ताल ।

मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ । तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पुर्याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो । तालको पानी र किनार दुवै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ ।

यसले तालको जैविक विविधतामा असर पु¥याउनका साथै तालको आकर्षण घटाएको छायाँनाथ रारा नगरपालिका–९ मुर्माका स्थानीय शिक्षक नन्दसिंह रोकायाले बताए । ‘रारातालको मुख्य आकर्षण यसको निलो पानी र सफा वातावरण हो, पछिल्लो समय बढ्दै गएको झारपातले सुन्दरता हराउँदै गएकाले समयमा सफाइ गर्नुपर्छ,’ उनले भने ।

रोकायाले आफू सानै हुँदा ताल धेरै सफा देखिने गर्दथ्यो भन्दै आजभोलि अत्यधिक उर्मिएको झारपात र सरसफाइ नहुँदा ताल विरूप देखिन थालेको बताए । ‘जताततै खुला सफा देखिने ताल आजभोलि दुर्गन्धित र विरूप देखिन थालेको छ,’ उनले भने । रारा राष्ट्रिय निकुञ्ज कार्यालयले झारपात नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त साधन र स्रोतको अभावले समस्या भइरहेको जनाएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपाने रारातालको पश्चिमतर्फ, निजार लगायत केही स्थानमा भएको झारपात सफा गरी ताललाई सुन्दर रूप दिने योजना बनाइएको भन्दै तत्काल उक्त योजना कार्यान्वयन हुने जानकारी दिए । राराताललाई दीर्घकालीन रूपमा संरक्षित गर्न योजनाबद्ध रूपमा झारपात नियन्त्रण, सरसफाइ अभियान र जैविक विविधताको संरक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

स्रोत : रासस
प्रकाशित मिति : १४ पुष २०८१, आइतवार २०:५१

लोकप्रिय