स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले आयोजना गरेको ‘स्वस्थ्यकर बुढ्यौली सम्बन्धी पैरवी’ कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिएमा स्वस्थ्य जीवनयापन गर्न सक्ने बताए ।
उनले भने, ‘ज्येष्ठ नागरिकलाई सम्मान आवश्यक छ । स्वस्थकर बुढ्यौलीका लागि बुढ्यौलीमा प्रयास गरेर हुँदैन । सुरुदेखि नै गर्नुपर्छ । यो एउटा संस्कार बन्नुपर्छ ।’ सबैले बुढेसकालका लागि आफूलाई तयार पार्न अहिलेदेखि नै सक्रिय जीवनयापन गर्नुपर्नेमा उनले जोड दिए । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरादेवी निरौलाले स्वस्थ्यकर बुढ्यौलीका लगि हामी सबैको जिम्मेवारी रहेको बताइन् ।
उनले भनिन्, ‘६२ वटा अस्पतालमा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा छ । स्वास्थ्यमा बिमामा पनि प्राथमिकता दिइएको छ ।’ उनका अनुसार हाल ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको सङ्ख्या तीन लाख छ भने १५ हजारलाई डिमेन्सिया रहेको छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग महानगर’ कार्यक्रममा अघिल्लो वर्ष १५ वटा वडामा गरेको र यो वर्ष १४ वटा वडामा गर्ने योजना रहेको बताए ।
उनले भने, ‘ज्येष्ठ नागरिकका लागि निमोनियाको खोप दिइरहेका छौँ । वडावडामा योगाका कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । योगामा महिला तथा भजनमा पुरुष ज्येष्ठ नागरिकहरुको सक्रियतापूर्वक सहभागिता छ ।’ ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले जति उमेर बढ्दै गए पनि सकारात्मक सोचकासाथ अघि बढ्दा सक्रियतापूर्वक जीवन जिउन सकिने बताए ।
उनले भने, ‘बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ । जुनै उमेरलाई पनि सन्तुलित रुपमा लानुपर्छ ।’ जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा उमेश बोगटीले ज्येष्ठ नागरिकलाई पारिवारिक तथा बाहिरका छलफलमा सहभागी गराउने, समयसमयमा अस्पताल लाने, औषधिको सही सेवनकाबारेमा जानकारी लिराख्नुपर्ने बताए ।
मानसिक रोग विशेषज्ञ डा निदेश सापकोटाले वृद्धावस्थामा सबैको स्मरण शक्तिमा ह्रास नआए पनि अधिकांशले बिर्सिने रोग अर्थात् डिमेन्सियाको सामना गर्नुपर्ने बताए । उनले भने, ‘उमेर ढल्किँदैमा स्मरण क्षमतामा ह्रास आउँछ भन्ने हुँदैन । सुरुदेखि नै स्वस्थकर जीवनशैली अपनाउनुपर्छ । तीन जनामध्ये दुई जनालाई अझै पनि डिमेन्सियाबारे थाहा छैन । यसबारे नीतिगत बहस हुनुपर्छ । सचेतना जगाउनुपर्छ ।’
सत्यपाटी