सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा ‘अनलाइन रोमान्स’को साइड इफेक्ट, अश्लीलतादेखि बेइज्जतीसम्म

अनलाइन प्रेम सम्बन्धमा रहेका बालबालिका र युवामाथि हुने हिंसाको डरलाग्दो स्वरूप देखा परेको छ । बिहीबार चाइल्ड सेफ नेटले सार्वजनिक गरेको ‘रोमान्सदेखि जोखिमसम्मः किशोर किशोरी र युवाहरूमाथि अनलाइन अन्तरङ्ग सम्बन्ध हिंसा’ अध्ययन प्रतिवेदनले यस्तो अवस्था देखाएको हो ।

सेक्सुअल भायोलेन्स रिसर्च इनिसियटिभसँगको सहकार्यमा सम्पन्न भएको यो अध्ययन एसिया र प्रशान्त क्षेत्रमा पहिलो भएको दाबी चाइल्ड सेफ नेटले गरेको छ । यस अध्ययन प्रतिवेदनले नेपालमा बढ्दो अनलाइन अन्तरङ्ग सम्बन्ध हिंसा (आइपीभी)लाई विस्तृत रूपमा उजागर गरेको छ ।

‘डिजिटल प्रविधिको असुरक्षित प्रयोगले अन्तरङ्ग साथीबिचको हिंसालाई बढाएको दिएको छ,’ अध्ययनबारे जानकारी दिँदै चाइल्ड सेफ नेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने, ‘यसमा मुख्यतः पार्टनरलाई नियन्त्रण गर्न खोज्ने, हानी पुर्याउने उद्देश्यले अनलाइनमा पछ्याउने, दबाब दिने र भावनात्मक दुर्व्यवहार गर्ने लगायतका गतिविधि समावेश छन् ।’

कार्यक्रममा चाइल्ड सेफ नेटकी अनुसन्धान अधिकृत तुलसा खड्काले अध्ययनका मुख्य निष्कर्ष प्रस्तुत गरेकी थिइन् । चार हजार ३५२ जना सहभागीमा गरिएको सर्वेक्षणमा २९ प्रतिशत १६ देखि १७ वर्ष उमेर समूहका थिए भने बाँकी ७१ प्रतिशत १८ देखि २४ वर्षका थिए । सहभागीमध्ये ४०.५ प्रतिशतले हाल वा विगतमा अनलाइनको माध्यमबाट अन्तरङ्ग सम्बन्ध भएको बताएका थिए ।

अन्तरङ्ग सम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि पार्टनरबाट अनलाइन हिंसा भएको बताएका थिए । सहभागीमध्ये ११ प्रतिशतले वयस्क र नाबालिगबिचको सम्बन्ध रहेको बताएका छन् । सुनसरी जिल्ला अनलाइन इन्टिमेट पार्टनर भायोलन्स (आइपीभी)को उच्च स्तरमा रहेको पाइएको छ । त्यहाँ ३८ प्रतिशत सहभागीले आफू अनलाइन आइपीभीको सिकार भएको जनाएका छन् ।

किशोरकिशोरी (१६–१७ वर्ष) र युवा (१८–२४ वर्ष) दुवै उमेर समूहका व्यक्तिहरू समान रूपमा अनलाइन आइपीभीको जोखिममा रहेको देखिएको छ । तथापि युवाहरुले दुव्र्यवहारका व्यवहारलाई चिन्न र तिनबाट जोगिन तुलनात्मक रूपमा बढी क्षमता देखाएका छन् । प्रतिवेदनले लामो प्रेम सम्बन्धमा भन्दा ६ महिनाभन्दा कम समयको सम्बन्धमा रहेका व्यक्तिहरू उच्च जोखिममा रहेको तथ्य उजागर गरेको छ ।

अनलाइन दुर्व्यवहारका प्रकारहरूमा १०.३ प्रतिशत सहभागीले अडिओ र भिडिओ कलमा गाली गर्ने उल्लेख गरेका छन् भने १०.२ प्रतिशतले आफ्नो पार्टनरको जासुसी गर्ने, ७.२ प्रतिशतले इन्टरनेटमा पार्टनरलाई नियन्त्रण गर्न खोज्ने र ७ प्रतिशतले अनलाइन सम्बन्धमा हस्तक्षेप गर्ने प्रयास गरेको तथ्य बाहिर आएको छ ।

त्यसैगरी ५.४ प्रतिशतले पार्टनरलाई अश्लील मेसेज पठाउने, ५ प्रतिशतले फोन वा मेसेजमार्फत दुर्व्यवहार गर्ने, ४.७ प्रतिशतले अश्लील सामग्री पठाउन बाध्य पार्ने, ४.४ प्रतिशतले अनलाइनमा अश्लील हर्कत गर्न बाध्य पार्ने, ३.२ प्रतिशतले अश्लील फोटो सार्वजनिक गर्ने धम्की दिने र ३ प्रतिशतले आफ्नै पार्टनरलाई अश्लील सामग्री बनाएर धम्क्याउने गरेको उल्लेख गरिएको छ ।

अध्ययनका अनुसार ४६ प्रतिशत सहभागीले अनलाइन र अफलाइन दुवै प्रकारका इन्टिमेट पार्टनर भायोलन्स (आइपीभी)को सामना गरेको बताएका छन् । विशेषतः लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू अनलाइन डेटिङ एपको प्रयोगका कारण उच्च जोखिममा रहेको पाइएको छ ।

नेपालको सन्दर्भमा आइपीभीको विषयमा छलफल गर्दै रघुवंशीले भने, ‘नेपाली कानुनले अविवाहित जोडीहरूको अन्तरंग सम्बन्धलाई मान्यता दिँदैन । यसले गर्दा अविवाहित जोडीहरूमा हुने अनलाइन अन्तरंग साझेदार हिंसाका विषयमा नीति तथा कानुनको अभाव रहेको देखिन्छ ।’

यो अध्ययन १६ देखि २४ वर्षका चार हजारभन्दा बढी किशोरकिशोरी र युवाहरूबाट नेपालका सातै प्रदेशका १० जिल्लाबाट जानकारी सङ्कलन गरी गरिएको थियो । अध्ययनले डिजिटल प्लेटफर्महरूको दुरुपयोगबाट हुने आईपीभी सम्बन्धित जोखिम, सुरक्षात्मक अभ्यास र प्रणालीगत कमजोरीहरू पत्ता लगाउने उद्देश्य राखेको थियो । अध्ययनले केही महत्त्वपूर्ण प्रणालीगत कमजोरीहरू उजागर गरेको छ ।

विशेषगरी पीडितलाई दोष दिने प्रवृत्ति, पीडित केन्द्रित दृष्टिकोण र सहयोगको अभाव र अपर्याप्त तथा कमजोर कानुनी संरचनाका कारण यस्ता घटना बढिरहेको देखिएको छ । यसले बहु–क्षेत्रीय जिम्मेवार निकाय र सरोकारवालालाई किशोरकिशोरी र युवालाई अनलाइन आइपीभीबाट सुरक्षित राख्न आआफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्दै शिक्षा, चेतना अभियान, नीतिगत सुधार र बलियो कानुनी संरचना विकासका लागि सिफारिस गरेको छ ।

अभिभावक र विद्यालयलाई अनलाइन सुरक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न प्रोत्साहित गर्दै अध्ययनले प्रविधिमार्फत हुने आइपीभीबारे थप अनुसन्धानको आधार तयार पारेको छ । चाइल्डसेफनेटको यस अध्ययनले नीति निर्माता, सेवा प्रदायक र समुदायका लागि प्रभावकारी सुझाव प्रस्तुत गर्दै जोखिमका कारक पहिचान गरी बालबालिका र युवाका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने अपेक्षा राखेको छ ।

सर्वेक्षणमा सहभागीमध्ये केहीले दिएका जवाफ :

‘उनी मेरो सामाजिक सञ्जालको पासवर्डहरू जान्दथे । उनी मेरो नाममा नक्कल गरेर मेरा साथीहरूसँग कुरा गर्थे ।’ – १७ वर्षीया महिला, काठमाडौं ।

‘मेरो श्रीमानले मेरो तस्बिरहरूलाई मोर्फ गरेर अश्लील बनाउँदै, मेरो चरित्रमाथि प्रश्न उठाउँदै झूटा अभिव्यक्तिहरू सामाजिक सञ्जालमार्फत फैलाए ।’ – २४ वर्षीया महिला, नुवाकोट ।

‘उनले मलाई ६ वर्षसम्म विभिन्न पोजमा न्युड तस्वीरहरू पठाउन बाध्य पारे, र मैले सहयोग गरेँ ।’ – १३ देखि १८ वर्षका गैर–द्वैध लैङ्गिक व्यक्ति, काठमाडौं ।

‘मेरो पुरुष पार्टनरले मेरो सामाजिक सञ्जालको पासवर्ड खोल्न बाध्य पारे र मेरो अन्य व्यक्तिहरूसँगको सम्पर्कमा प्रतिबन्ध लगाए ।’ – २२ वर्षीय समलिङ्गी पुरुष, काठमाडौं ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार १९:२४

लोकप्रिय