२०८३ भदौ २१ , आइतबार 7, September 2026, Monday

बाघ हेर्न बाँके निकुञ्जमा जङ्गल सफारी खुला

बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै सबैभन्दा कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा बाघ लगायतका जङ्गली जनावर अवलोकनका लागि जङ्गल सफारी खुला गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्जले यस वर्ष पनि जङ्गल सफारी खुला गरेको जनाएको छ ।

निकुञ्जभित्र रहेको वनपथवरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले बताए । उनले निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारीको टिकट काट्ने व्यवस्था मिलाइएको बताए ।

सूचना अधिकारी पङ्गेनीका अनुसार सफारीमा निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघ सहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्न ठाउँ ठाउँमा मचान, घाँसेमैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधारसमेत निर्माण गरिएका छन् । १० जना अटाउने जिप सफारीका लागि २५ सय रुपैयाँ शुल्क तोकिएको निकुञ्जले जनाएको छ ।

अगैया वनपथमा बाघ देखिने सबैभन्दा बढी सम्भावना रहेको बताइएको छ । उनले बाघ रहने सही स्थान पत्ता लगाउन अहिले निकुञ्जभित्र क्यामरामार्फत अनुगमन सुरु गरिएकाले निकुञ्जमा रहेका बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुनेछ । विसं २०६७ मा बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो ।

प्रकाशित मिति : २०८१ पुस १२ गते शुक्रबार