धानले झुल्ने खेत यतिबेला लटररम्म कागती दाना पहेँलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिकरुपमा कागतीखेती गरेका छन् ।
विष्णुदेवी बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्मको नामको फाम दर्ता गरेर व्यावसायिक कागती खेती गरेको उनले बताए । उनले आफ्नो १२ कट्ठा जमिनमा पाँच वर्षअघि रोपेका सुन कागतीले रोपेको दोस्रो वर्षदेखि फल दिन थालेका छन् ।
उनको फार्म रहेको जमिनमा तारजाली लगाएका छन् । बिरुवा र तारबार गर्दा ८ लाख लगानी लागेको बताए । ‘सिँचाइ सुविधा नभएकाले धानखेती गर्न साह्रै गाह्रो भयो, मेहनतअनुसारको उत्पादन भएन,’ उनले भने, ‘त्यसैले धानखेत मासेर कागती लगाएको हुँ ।’
उनको बारीमा अहिले लटरम्म कागती फलेर पाकेका छन् । ‘कागतीलाई बजारको समस्या छैन, समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन,’ उनले भने, ‘कम मेहनत र थोरै लगानीमा बजार पनि राम्रो छ ।’
उनले दुईसय ६५ कागतीका बोटबाट वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको बताए । बाँकी खेतमा तिहारका लागि रोपेको फूल बिक्री गरेर ७० हजार आम्दानी गरेको उनले बताए । उत्पादन भएको कागती घोराही बजारमा बिक्री हुने गरेको छ ।
फुटकर किलोमा १०० रूपैयाँ र थोकमा ४०० रुपैयाँमा पाँच किलो बिक्री हुने गरेको उनले बताए । दैनिक ५० किलो बिक्री गर्ने गरेको उनले बताए । कागती फलेको समयमा सस्तो मूल्यमा बिक्री गर्नेुपर्ने बाध्यता रहेकाले कागती भण्डारणका लागि चिस्यान केन्द्र भएमा सजिलो हुने उनको भनाइ छ ।
स्थानीय, प्रदेश सरकारले चिस्यान केन्द्रका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् । पाकेको कागती लामो समयसम्म घरमा राख्न नसकिने र नजिकमा चिस्यान केन्द्र नहुँदा व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा व्यावसायिक रुपमा कागतीखेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनैबेला घरायसी प्रयोजनका लागि दुई–चार बोट लगाउनेहरुले अहिले व्यावसायिक रुपमा कागतीखेती गर्न थालेका छन् ।
तीन वर्षअघि ५० हेक्टर क्षेत्रफलमा कागतीखेती गरिँदै आएकोमा अहिले २९१ हेक्टरमा कागती खेती हुने गरेको छ । ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिकटन कागती उत्पादन भइरहेको छ ।
सुन कागतीले रोपेको दुइ वर्षभित्रमा आम्दानी दिन थालेपछि व्यावसायिकरुपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए । बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् ।
पछिल्लो समय धेरै किसान व्यावसायिक कागती खेतीमा लागेको उनी बताउँछन् । सूचना अधिकारी लामिछानेले भने, ‘अन्य बालीको तुलनामा कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीका लागि बजारको पनि समस्या नहुँदा धेरै जना किसान कागतीखेतीप्रति आकर्षण बढेको छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ