सूचनाको शक्ति - The Power Of Information

        

घर जाने बेला म्याद थप्न सशस्त्रका डीआइजीहरूको दौडधुप

सशस्त्र प्रहरीमा चार जना डीआइजीहरू पदावधि पुरा गरेर यसै महिना अवकाशमा जाँदैछन् । डीआइजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लागेका हुन् । सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख छन् गिरी । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुख छन् ।

२०८१ पुस २३ मा पदावधि पुरा गरेर अवकाश हुन लागेका उनीहरू म्याद थप गराउने दौडमा निस्किएका छन् । कार्यक्षेत्र छाडेर राजनीतिक लबिङ र बिचौलियामार्फत चलखेल सुरु गरेको भन्दै सशस्त्रभित्र असन्तुष्टि चुलिएको छ । नयाँ विधेयक संसद्मा तत्काल दर्ता भएमा आइजीपी र एआईजी हुने अभिलाषाले उनीहरूले ‘अस्वस्थ चलखेल’ सुरु गरेको आरोप छ । सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजी पदावधि चार वर्षको हुन्छ ।

सरकारले चाहँदा एक वर्ष थप्न सकिने व्यवस्था छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआइजीको चार वर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ । त्यही व्यवस्थालाई टेकेर भावी नेतृत्व नै हत्याउने गरी उनीहरू दौडमा निस्किएका हुन् । म्याद थप गर्न सशस्त्र प्रहरी प्रमुखले सिफारिस गर्नुपर्छ । म्याद थप्न दबाब दिने डीआइजीहरूको पृष्ठभूमि सफा नभएको सशस्त्रका अधिकृतहरू बताउँछन् ।

डीआइजीहरू गिरी, नेम्वाङ र सुवेदी रेकर्डमा जनिने गरी विभागीय कारबाही भोगेका अधिकृत हुन् । गणेश ठाडामगर पटक–पटक स्पष्टीकरण भोगेका अधिकृत हुन् । अवकाशमा मुखमा रहेका उनीहरू अहिले कार्यक्षेत्र छाडेर काठमाडौँमा ओहोरदोहोर गरिरहेका छन् । सशस्त्रको राजनीतिक व्यक्ति र कूटनीतिक व्यक्ति भेटघाट सम्बन्धी कार्यविधिलाई लत्त्याएर उनीहरू नेपाली कांग्रेसका नेताको ढोका ढकढक्याइरहेका छन् । अहिले एक वर्ष म्याद थप गर्ने र नयाँ विधेयक संसद्बाट पारित भएपछि उनीहरू एआइजी र आइजी हुने दौडमा लागेका हुन् ।

सशस्त्रको नयाँ ऐन पारित भएपछि वर्तमान आइजी र एआइजी अवकाशमा जान्छन् । म्याद थप्ने विषय मन्त्रिपरिषद्को तजबिजमा भर पर्छ । अहिले उपत्यका स्थित नम्बर–९ पशुपति बाहिनीमा कार्यरत डीआइजी किशोर प्रधानको म्याद थप गरिएको थियो । उनी थप गरिएको १ वर्ष पनि बिताउँदै माघ १० मा अनिवार्य अवकाशमा जान लागेका छन् । तर, सरकारले म्याद थप नगरेपछि प्रवीण श्रेष्ठ २०७८ असार ८ मा अवकाश भएका थिए ।

सिसम–१ का अधिकृतहरूलाई रोक्न चलखेल

म्याद थप्ने दौडमा लागेका अधिकृतहरू नेपाल प्रहरीबाट सशस्त्रमा गएका हुन् । चार जनाको म्याद थप्दा सशस्त्र प्रहरी सेवा आयोगबाट भर्ना भएका अधिकृतहरू रोकिने अवस्था आउने सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘भावी नेतृत्वको रूपमा हेरिएको सिसम–१ का अधिकृतहरू डीआइजी दर्जाबाटै अवकाश हुने अवस्था आउन सक्छ ।’ चार वर्ष अवधि पुरा भएका डीआइजीहरूको एक वर्ष म्याद थप नभएको खण्डमा ३० वर्ष सेवा अवधि हटे पनि सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएका पहिलो ब्याचका अधिकृतहरू नेतृत्व तहमा पुग्छन् ।

अवकाशको मुखमा पुगेका डीआइजीहरूभन्दा सिसम–१ का अधिकृतहरू काबिल मानिन्छन् । सिसम–१ मा भर्ना भएका डीआइजी सुरेशकुमार श्रेष्ठ साउथ सुडानस्थित युएन मिसनमा पी–४ लेबलमा कार्यरत छन् । अन्जनीकुमार पोखरेलले संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयमा पी–३ लेबलमा काम गरेका थिए । डीआइजी दीपेन्द्र शाह दुईवटा मिसनमा काम गरेका र सशस्त्र प्रहरी बल कमान्ड तथा स्टाफ कलेजबाट पहिलो ब्याचमा ग्य्राजुएट गरेका अधिकृत हुन् । अर्का डीआइजी पुरुषोत्तम थापा दुईवटा युएन मिसनमा काम गरेका र सैनिक कमान्ड तथा स्टाफ कलेजबाट ग्य्राजुएट गरेका अधिकृत हुन् ।

डीआइजी बढुवा रोक्न कुँवरको दबाब

सशस्त्रमा २०८१ भदौ १६ देखि दुई डीआईजीको दरबन्दी रिक्त छ । सो पदमा हालसम्म बढुवा गरिएको छैन । ३० वर्षे सेवा अवधि पुरा गरेर अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाशमा गएपछि दुईवटा दरबन्दी रिक्त भएको थियो । बढुवाका लागी सशस्त्रको पहिलो ब्याच (सिसम–१)का टोली प्रतिस्पर्धामा छन् । बढुवा हुँदा मनिष थापा र कृष्ण ढकाल पर्ने सम्भावना छ । सशस्त्रमा डीआईजी हुन अनिवार्य रूपमा स्टाफ कलेज पास गर्नुपर्छ ।

थापा र ढकालले स्टाफ कलेज पास गरेका छन् । तर, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले बढुवा रोक्न दबाब दिइरहेका छन् । सिसम–२ का कुँवर आफूभन्दा सिनियर ब्याचका र स्टाफ कलेज उत्तीर्ण अधिकृतलाई पछि पार्न दबाब दिइरहेका छन् । मेरिट लिस्टमा ११ नम्बरबाट १ नम्बरमा उक्लिएका कुँवर मनिष थापा र कृष्ण ढकाललाई रोक्न चाहन्छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज भानुको बहिनी ज्वाइँ हुन् । कुँवर अघिल्लो ब्याचलाई उछिनेर बढुवाको लबिङमा उत्रिएपछि डीआईजी बढुवा अलपत्र परेको सशस्त्रका अधिकृतहरू बताउँछन् ।

यसअघि कुँवरलाई बढुवा गर्न सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो । सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीमा चार वर्ष सेवा गरेपछि मात्र एसएसपीमा बढुवा हुनसक्ने प्रावधान थियो । कुँवरलाई बढुवा गर्न सो प्रावधानले बाधा पुर्याएपछि नियमावली नै संशोधन गर्दै चार वर्षे पदावधिलाई तीन वर्षमा झारिएको थियो । उनी २०७९ साउनमा एसएसपीमा बढुवा भएका हुन् । अहिले आफू बढुवा हुन दरबन्दी थप गराएर सहज परिस्थिति बनाउन दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार ०७:३४

लोकप्रिय