सूचनाको शक्ति - The Power Of Information

        

एउटै वडाका १२० परिवार व्यावसायिक कफीखेतीमा

कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । मोरङको लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समयमा कफी उत्पादन गरिरहेका हुन् ।

शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरुवा आफैँ तयार गरेका छन् । नर्सरीबाट उत्पादित बिरुवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन् । ‘चार वर्षअघि रोपिएका बिरुवाले उत्पादन दिन थालेका छन् । यसपटक १० क्विन्टलभन्दा बढी उत्पादन भयो,’ राई भन्छन् ।

कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो रु ९० का दरले बिक्री हुने गरेको छ । फ्रेस चेरीलाई ‘पल्पिङ’गरी ‘पार्चमेन्ट’ बनाइ तयार गर्दा प्रतिकिलो रु ४५० देखि ५६० सम्ममा बिक्री हुने गरेको छ । राज एग्रीकल्चर फार्म नै सञ्चालन गरेका राईले ‘खाली जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ,’ भने ।

राईले जस्तै सोही वडाका १२० परिवारले कफीको व्यावसायिक खेती गरेका लेटाङ–७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताए । जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको अध्यक्ष राईले बताए । वडा नम्बर ७ जस्तै वडा १ मा पनि व्यावसायिक कफीखेती सुरु भएको छ ।

यो वडामा पनि एक हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरुवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगर बताउँछन् । ‘यस अभियानमा स्थानीय २०० घरवपरिवार किसान आबद्ध छन्, जसले कृषि क्षेत्रको विकासमा सघाएको छ,’ अध्यक्ष मगर भन्छन् । लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती बताउँछन् ।

नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेको उनले बताए । किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाउँछन् ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार ११:१३

लोकप्रिय