भारतमा विवाहका लागि दुलाहा–दुलहीका विषयमा जानकारी जुटाउने काम लमी वा पण्डितले होइन, जासुसले गर्न थालेका छन् । सदियौँदेखि यो काम नातेदार, छरछिमेकी वा लमीले गर्दै आएका थिए । तर, अब यो काम व्यावसायिक जासुसले गर्न थालेका छन् ।
विवाहअघि केटा र केटीका बारेमा जानकारी जुटाउने यस्ता जासुहरूको ठूलो नेटवर्क आजभोलि भारतका सहरदेखि गाउँसम्म फैलिएको छ । भावना पालिवाल यस्तै एक ‘हाइटेक’ जासुस हुन् । नयाँ दिल्लीमा काम गर्ने शिलाले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार उनकी छोरीले आफ्नो प्रेमीसँग विवाह गर्ने निर्णय गरिन् ।
तर, शिलालाई छोरीले छानेको केटाका बारेमा सबै कुरा थाहा पाउन मन लाग्यो । त्यसपछि उनले गुहारिन् जासुस भावना पालिवालाई । शिला भन्छिन्, ‘मेरो विवाह राम्रो भएन । तर, मेरी छोरीको जीवनसाथी भने राम्रो होस् भनेर मैले सावधानीपूर्वक यसो गरेँ ।’ ४८ वर्षे भावना पालिवालले करिब दुई दशकपहिले तेजस डिटेक्टिभ एजेन्सी सुरु गेरेकी थिइन् ।
उनका अनुसार केटा–केटीको जासुसी गर्ने काम निकै राम्रो चलिरहेको छ । हालसालै भावना पालिवालले एकजना केटाको जासुसी गरिन् । ती युवकले आफ्नी हुनेवाली श्रीमतीलाई आफ्नो तलब ढाँटेका थिए । ‘त्यो केटाले ७० हजार ७०० अमेरीकी डलर वार्षिक आम्दानी भनेको थियो । तर यथार्थमा उसको वार्षिक आम्दानी सात हजार सात सय अमेरिकी डलर थियो,’ भावना पालिवालले सुनाइन् ।
५१ वर्षे सञ्जय सिंह पनि एक जासुसी एजेन्सी चलाउँछन् । उनका अनुसार उनले यस वर्ष मात्र यस्ता सयौँ युवायुवतीको जासुसी गरे । विवाहअघि युवा–युवतीको जासुसी गर्ने ‘प्राइभेट डिटेक्टिभ’ आकृति खत्रीका अनुसार उनले गर्ने कुल जासुसीको एक चौथाइभन्दा बढी त विवाहका लागि मगनी गरेका युवा–युवतीकै हुन्छ ।
उनी भन्छिन्, ‘मान्छेहरू दुलाहा कतै समलैगिंक त होइन भनेर समेत जान्न खोज्छन् ।’ जासुसी निकै गोप्य तरिकाले गर्नुपर्ने काम हो । भावना पालिवालको कार्यालय सहरको एक ठूलो मलमा छ । काम जासुसीको भए पनि भावनाको कार्यालयको बोर्डमा भने ‘भविष्य बताउने ज्योतिषी’ लेखिएको छ । यस्ता जासुसले आठ हजारदेखि दुई लाख रुपैयाँसम्म शुल्क लिन्छन् ।
यो शुल्क कति जानकारी चाहिने हो र कति निगरानी गर्नुपर्ने हो भन्ने कुरामा भर पर्छ । विवाहका लागि जीवनभरको बचत खर्च गर्नेका लागि जासुसीमा खर्च हुने रकम खासै धेरै होइन् । विवाह गर्ने जोडीहरू मात्र होइन, प्रेमी–प्रेमिका पनि एकअर्काको जासुसी गराउँछन् । भारतमा परम्परागत रूपमा विवाहपूर्व अनुसन्धानको काम परिवारका सदस्य, पुजारी वा लमीले गर्ने गर्थे ।
तर, मानिसहरको बसोवास सहरतर्फ सरेपछि सामाजिक संरचनामा यस्तो परिवर्तन आएको छ कि सूचना पुष्टि गर्ने परम्परागत विधिहरू खासै प्रभावकारी हुन सकिरहेका छैनन् । आधुनिक सहरहरूमा अनेक प्रकारका निगरानी उपकरण हुन्छन् । जसका कारण जासुसलाई आफूले जासुसी गर्ने मान्छेको घरसम्म पुग्न मुस्किल हुन्छ ।
सिंहका अनुसार जासुसी कानुनी र अवैध तरिका बीचको ठाउँ हो । उनी आफ्ना जासुसलाई कुनै पनि गैरकानुनी काम नगर्न निर्देशन दिएको दाबी गर्छन् । यस्ता जासुसहरूको जासुसीले कसैको जीवन पनि बर्बाद पार्न सक्छ । आकृति खत्रीले भने आफ्ना एजेन्टहरूका लागि एउटा एप बनाएकी छिन् । एजेन्टले आफूले पत्ता लगाएको जानकारी एपमा अपलोड गर्छन् ।
कसैगरी एजेन्टहरू समातिए पनि सूचना चुहावट हुने डर रहँदैन । खत्री भन्छिन्, ‘यसले हाम्रो टोलीलाई सुरक्षित राख्छ र कम समय र खर्चमा राम्रो नतिजा पनि दिन्छ ।’ भारतीय बजारमा केही हजार रुपैयाँमा निगरानी उपकरण सजिलै पाइन्छन् । अडियो वा भिडियो रेकर्डिङ उपकरण लामखुट्टे भगाउने इलेक्ट्रोनिक मेसिनमा लगाउन सकिन्छ । साना क्यामेरा, चुम्बकीय जीपीए सहर र कारमा लगाउने गरिन्छ ।
प्रविधिको विकासले सम्बन्धका लागि नयाँ चुनौतीहरू पनि सिर्जना गरेको छ । खत्री सुनाउँछिन्, ‘हामी जति हाईटेक बन्छौँ, त्यति नै हाम्रो जीवनमा समस्या आउँछ ।’ तर, सम्बन्धमा हुने विश्वासघातको पर्दाफास गर्न प्रविधि र जासुस जिम्मेवार नहुने उनको दाबी छ । उनी भन्छिन्, ‘यस्ता सम्बन्ध कुनै पनि हालतमा लामो समयसम्म टिक्दैनन् । कुनै पनि सम्बन्ध झुटमा टिक्न सक्दैन ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं