२०८३ कात्तिक ७ , शुक्रबार 23, October 2026, Friday

छविको बयान लिन दुई दिन लाग्यो, अझै आएन रविको पालो

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा पेस गराइएकामा प्रतिवादी छविलाल जोशीको बयान आज मंगलबार सकिएको छ ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (डीआइजी) समेत रहेका जोशीको जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा दुई दिन लगाएर बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । जोशीको बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाईंको बयान सुरु गरिएको उनले बताए ।

पछाईंको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने सूचना अधिकारी अधिकारीले बताए । सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाईं, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो ।

यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछाने लगायत विरुद्ध मुद्दा दायर गरेको थियो । सबै प्रतिवादीको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ पुस ९ गते मंगलबार