सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका बिमल डाँगीसहित सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए

सशस्त्र प्रहरी बलका चारजना उपरीक्षक (एसपी)लाई मुख्यालय झिकाइएको छ । राजस्व संकलनमा गडबढ गरेको गुनासोपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्वयम्भूमा झिकाइएको हो ।

सशस्त्र प्रहरी बलका मोरङ जिल्ला प्रमुख एसपी विश्व खड्का, बाराका प्रमुख सन्तोष बहादुर सिंह र बाँकेका प्रमुख बिमल डाँगीलाई मंगलबार हेडक्वार्टर बोलाइएको छ । एकसाता अघि धनुषाका एसपी दर्शन गिरीलाई पनि हेडक्वार्टरले झिकाएको थियो ।

राजश्व संकलनमा कमी आएपछि उनीहरुलाई स्पष्टिकरणका लागि बोलाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी कुमार न्यौपानेले बताए । गृह मन्त्रालय स्रोतले भने उनीहरुको आर्थिक विषयमा गुनासो प्राप्त भएको जनाएको छ ।

‘आज जो जोलाई बोलाइएको छ । यी सबैमाथि आर्थिक कुरामा प्रश्न उठ्यो, हामीकहाँ गुनासो प्राप्त भएपछि हेडक्वार्टरलाई कारबाही अगाडी बढाउन भनेका हौँ, थप कारबाही त्यतैबाट हुन्छ,’ गृह स्रोतले भन्यो ।

डीआइजी न्यौपानेले पनि आर्थिक विषयमै कमजोरी देखिएपछि बोलाइएको बताए । बिगतको महिनामा भन्दा पछिल्ला महिनामा राजस्व संकलनमा कमी आएपछि सोधपुछका लागि झिकाइएको उनले बताए ।

गतवर्ष फागुनमा उनीहरुलाई जिल्ला प्रमुखका रुपमा खटाइएको थियो । सामान्यतया एक वर्षमा मात्रै जिल्ला प्रमुख हेरफेर हुने भएपनि उनीहरुको जिम्मेवारीमा प्रस्न उठेको हो । सोधपुछपछि थप निर्णय हुने सशस्त्र प्रहरी प्रवक्ताले बताए ।

प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार २२:०५

लोकप्रिय