सूचनाको शक्ति - The Power Of Information

        

हिउँदे झरी : बादलले ढाके पनि वर्षा कम

नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यून चापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौँ उपत्यका लगायत केही स्थानमा आज सामान्य वर्षा भएको छ ।

काठमाडौँमा पनि साँझ सामान्य पानी परेको छ । आजराति पनि खासै वर्षा हुने अवस्था नरहेको तर बदली भएको क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा गराउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

भोलिदेखि भने मौसम सुधार हुँदै जाने पनि उनले बताए । उनका अनुसार अहिले कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ । बागमतीमा पहाडी र हिमाली क्षेत्रमा बढी र कोसीको पश्चिम भू–भागमा बादल रहेको अर्यालले बताए । सुदूरपश्चिममा आंशिकदेखि साधारण बदली रहेको उनले बताए ।

मौसमविद् अर्यालले भने, ‘खासै पानी परेको देखिँदैन । पश्चिममा गएको २४ घण्टामा डडेल्धुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । राति पनि हल्का हिमपात र वर्षा हुने देखिएको छ । भोलिदेखि क्रमिक सुधार हुने देखिन्छ ।’

बिहीबारसम्म खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको पनि मौसमविद् अर्यालले बताए । यो बदलीले देशैभरि चिसो भने बढाउने उनले बताए । ‘हिउँ परेको ठाउँबाट आउने हावाले चिसो बढाउने हो, जता हावा जान्छ उतै बढी चिसो हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अर्यालले भने ।

भोलि बिहानको समयमा उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षाका साथै हल्का हिमपात तथा तराई र उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक तथा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार २१:४०

लोकप्रिय