जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो संस्करणको एनपीएलको उपाधिनजिक पुगेको हो ।
पराजित जनकपुरले अब फाइनल पुग्नका लागि दोस्रो मौका पाउनेछ । लिगको दोस्रो क्वालिफायरमा जनकपुरले एलिमिनेटर खेलको विजेता कर्णाली याक्सविरुद्ध खेल्नेछ । आजै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । ओपनर विनोद भण्डारी ५८ र कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे । भण्डारीले ५५ बलमा ३ चौका र ३ छक्का हाने । उनले ४१ बलमा अर्धशतक पूरा गरेका थिए । कप्तान ऐरीले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारी र ब्राण्डोम म्याकमुलेनले ५९ रनको साझेदारी गरेपछि सुदुरपश्चिमले सहजै लक्ष्य भेट्टाएको हो । म्याकमुलेनले १९ बलमा १ चौका र १ छक्का सहयोगमा २५ रन बनाउँदा ललित राजवंशीको बलमा जिम्मी निसमको हातबाट क्याच आउट हुन पुगे ।
पहिलो विकेटका लागि विनोद र सैफ जैवले ७.३ ओभरमा ५६ रनको साझेदारी गर्दै सुदुरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । ओपनर सैफ जैव ३२ रन बनाउँदै किशोर महतोको बलमा जिम्मी निसमको हातबाट क्याच आउट भए । उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रनको योगफल तयार पारेको थियो । जिम्मी निसमले बनाएको ४४ रन नै जनकपुरका लागि सर्वाधिक रह्यो । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा स्कट कुग्लेजिनको बलमा बोल्ड आउट भए ।
शुभ कंसाकार २६ रनमा रनआउट भए । १२ रन बनाउँदा हर्ष ठाकेर सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए । ओपनर लाहिरु मिलान्था १४ बलमा २ चौका सहयोगमा १२ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे । कप्तान आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए ।
सुदुरपश्चिमका लागि दिपेन्द्रसिंह ऐरिले ३ विकेट झारे । सैफ जैवले २ विकेट लिए । स्कट कुग्लेजिन र अविनास बोहोराले समान एक विकेट आफ्नो नाममा गरे । लिगमा भोलि बिहिबार दोस्रो क्वालिफायर खेल हुनेछ । सो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।
नेपाल प्रिमियर लिगमा कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमात्रै बनाउँदा चितवन एलिमिनेटरबाट नै बाहिरिएको छ ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेन्केस्टीनले १६ र सरद भेषावकरले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । कर्णालीका लागि जिसन मक्सुदले सर्वाधिक ३ विकेट लिए ।
सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिँदा विपिन शर्माले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो । कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम वासिस्टो अर्धशतकीय पारी खेले । ओपनर कोल्सावालाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले ।
उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । विलियम वासिस्टोले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाउँदै सोहिल तान्भिरबाट पाँचौं विकेटको रूपमा पेभेलियन फर्किए । कर्णालीले पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको पहिलो बलमा डक आउटको रूपमा गुमायो । दोस्रो विकेट ४.६ ओभरमा जिसन मक्सुदको गयो ।
मक्सुदले १२ बलमा १ चौकार १ छक्कासहित १४ रन बनाएर शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए । त्यस्तै तेस्रो विकेट जयकिसन कोल्सावालाको गयो । उनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५३ रन बनाउँदै रवि बोपाराको बलमा शरद भेषवाकरको हातमा क्याच भए । चौथो कर्णालीका लागि गुल्सन झा डक आउट भए ।
पाँचौं विकेटका लागि विलियम वासिस्टो र चाड्विक वाल्टनले ६७ रनको साझेदारप् गर्दै कर्णालीको मिडल अर्डर बलियो बनाए । त्यस्तै छैटौं विकेटका रूपमा देव खनाल रन आउट भए । चाड्विक वाल्टन ४६ रन र सोमपाल कामी शून्यमा अविजित रहे । चितवनका लागि सोहिल तनवीरले सर्वाधिक २ विकेट लिए । कुशल मल्ल, रवि बोपारा र शरद भेषवाकरले समान १–१ विकेट लिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं