बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्याएको थियो । दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो सुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ ।
कालाबञ्जरका नरेन्द्र कुम्हारले रु दुई लाख खर्च गरेर पुनः आलु रोपेको बताए । पहिले आलु रोप्दा उनले रु तीन लाख बढी खर्च गरेका थिए । ‘दोस्रो पटक आलुको बीउ किनेर रोपियो तर मल हाल्नु परेन,’ उनले भने । नरेन्द्रले १७ कट्ठा जग्गामा आलु खेती गरेका छन् । ‘पहिले लगाएको आलु बेमौसमी पानीले सखाप पार्यो, जग्गा त्यत्तिकै राख्ने कुरा भएन, आफन्तसँग सापट र ऋण गरेर आलु रोपेका छौँ,’ उनले भने ।
स्थानीय रमेश मौर्यले पहिले रोपेको आलु बेमौसमी पानीले गर्दा नउम्रिएपछि सहकारीबाट ऋण लिएर पुनः रोपेको बताए । हिरमिनिया आलुको पकेट क्षेत्र मान्निछ । यहाँका सबै किसानले आलुखेती गर्छन् । बेमौसमी पानीले आलु बारी डुबान भएको थियो । तीन दिनसम्म डुबानमा परेपछि आलुको बीउ सबै कुहिएको थियो । जेनेरेटर लगाएर पानी फालेका किसानले बेर्ना उम्रिने आशा गरेका थिए ।
केही किसानको थोरै बेर्ना उम्रिएपनि अधिकांशको उम्रिएन । आलु पुनः रोप्न पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुर लगायतका तरकारी लगाएका छन् । हिरमिनियामा सबैभन्दा धेरै आलु लगाउने किसान जयपाल मौर्य छन् । उनले ड्याङ बनाएर आलु रोपेकाले केही बेर्ना उम्रिएको बताए । नउम्रिएको ठाउँमा फेरि रोपेका छन् ।
स्थानीय रमेश मौर्यले दोस्रो पटक पाँच हजार क्वीन्टलका दरले बीउ किनेर आलु रोपेको बताए । डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले किसानले लगाएको आलुको क्षतिपूर्तिको माग गरेको बताए । उनका अनुसार हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका सबै किसानले आलु खेती गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके