सूचनाको शक्ति - The Power Of Information

        

फूल्नै छाड्यो लालुपाते, हराउँदै मौसमी फूलहरू

चौत–वैशाखमा लालीगुराँस फुलेर वनजंगल राताम्मै देखिएजस्तै मंसिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ ।

जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपाते लगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन् । तापक्रम वृद्धिको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तन देखिन थालेका वन र वातावरणको क्षेत्रमा काम गर्दै आएका पुष्पराज अधिकारीले बताए ।

उनका अनुसार फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको हो । तीन–चार वर्षअघिसम्म जिल्लाका बावियाचौर, अर्मन, बगरफाँट, ज्यामरूककोट, शिख, हिस्तान, भकिम्ली, गौश्वारा, मराङलगायत क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन ।

‘यो समय लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन,’ मंगला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताए । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको छ । माटोमा अम्लियपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समय पछि धकेलिँदै गएको हुनसक्ने कृषि प्राविधिक जगत बानियाँले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार ०७:०५

लोकप्रिय