सूचनाको शक्ति - The Power Of Information

        

धरौटी बुझाएर छुटेका दुर्गा प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर छुट्नेबित्तिकै फेरि पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंसँग ४० हजार धरौटी माग गरेपछि उनी धरौटी बुझाएका थिए ।

नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत धरौटी माग भएको थियो । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान गरेको थियो ।

यसमा धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । धरौटी बुझाएपछि रिहा भएका प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको हो । प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेकोले उनलाई फेरि नियन्त्रणमा लिनुपरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ । प्रसाईंविरूद्ध संगठित अपराध कसुर पनि लागेकोले यसमा अदालतबाट म्याद लिई ६० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ । प्रसाईं मंसिर ४ गते पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १९:३२

लोकप्रिय