२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई आज पर्साबाट पोखरा पठाइँदै

सत्यपाटीसत्यपाटी । पर्सा । २०८१ मंसिर २६ गते बुधबार

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्साको वीरगञ्ज पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उनलाई आज पोखरा फिर्ता पठाउने तयारी छ । सोमवार सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि वीरगञ्ज लगिएको थियो ।

सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिएका हुन् । उनीसँग हिजो जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा झण्डै चार घण्टा बयान लिइएको थियो । सरकारी वकिलको कार्यालयमा बयान सकेर पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा गएको कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही, काठमाण्डौ र चितवन लगिएको थियो । यसैबीच अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले हिजो रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अनुसन्धानको क्रममा रहेका लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिकरूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर २६ गते बुधबार