गृह मन्त्रालयले बढुवा भएका आठ डिआइजीको पदस्थापन गर्न सकेको छैन । मन्त्रालयले जिम्मेवारीविहीन बनाउँदा प्रहरी प्रधान कार्यालयमा हाजिर गरेर बस्न बाध्य भएका छन् । प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएर फुली लगाएका नेपाल प्रहरीका आठ अधिकारीले नौ दिनसम्म जिम्मेवारीविहीन भएका छन् ।
मन्त्रालयले बढुवासँगै पदस्थापन गर्ने यसअघघिको सामान्य नियमलाई समेत उल्लंघन गरेको छ । केही दिनदेखि गृहमन्त्री र सचिव क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी भएकाले पदस्थापन हुन नसकेको मन्त्रालयको दावी छ । गत १७ मंसिरमा बढुवा भएका डिआइजीहरू ध्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक प्रहरी प्रधान कार्यालयमा हाजिर गरिरहेका छन् ।
उनीहरूलाई सोही दिन प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । डिआइजीको पदस्थापन गृहमन्त्रीस्तरको निर्णयबाट हुने प्रहरी नियमावलीमा उल्लेख छ । गृहमन्त्री र सचिव केही दिनदेखि मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको क्षेत्रीय सुरक्षा गोष्ठीमा भाग लिन काठमाडौं बाहिर छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार उनीहरूको पदस्थापनसँगै अन्य चार डिआइजीको सरुवा पनि गर्न लागिएको छ । डिआइजीहरु दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी, कुवेर कडायत, चन्द्र कुवेर खापुङ लगायतको सरुवा हुन लागेको हो । ‘बढुवा भएका डिआइजीहरुको पदस्थापनसँगै उनीहरुको पनि सरुवा हुनेछ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । आठ डिआइजीहरुको बढुवापछि नेपाल प्रहरीमा एसएसपीको २० दरवन्दी खाली भैसकेको छ ।
असारदेखि नै प्रहरीमा एसएसपीका पद रिक्त रहेकोमा अहिलेसम्म बढुवा हुन सकेको छैन । हाल एसएसपीका २० दरबन्दी रिक्त छन् । प्रतिस्पर्धी ३८ जना रहेका छन् । एसएसपी बढुवाको समितिमा गृहसचिव अध्यक्ष हुने प्रावधान छ । गृहसचिवसहित प्रहरी महानिरीक्षक र मानव संशाधन शाखाको प्रमुख सदस्य रहने प्राबधान छ । उनीहरुको बढुवा पनि चाँडै हुने गृहमन्त्रालय स्रोतले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं