सूचनाको शक्ति - The Power Of Information

        

तापक्रम घटेर खोला नै जम्न थालेपछि…

हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम घटेर माइनस ७ डिग्रीमा झरेको छ । घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमा तापक्रम माइनसमा झरेपछि दैनिक जनजीवन प्रभावित भएको छ ।

तापक्रम मापन केन्द्रसमेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका अनुसार पछिल्लो २४ घण्टामा मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । स्याउ लगायत फलफूलमा सिँचाइ गरेको पानी नै जमेर हिउँ भएको छ ।

उपल्लो मुस्ताङ क्षेत्रमा चिसो अत्यन्त बढेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए । प्रजिअ भुसालका अनुसार चिसो बढेर पानी जम्ने र घाम लागेपछि मात्र घरबाहिर निस्कन सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यातायात भने सञ्चालनमा नै रहेको र सीमानाका खुला रहे पनि उपल्लो मुस्ताङ क्षेत्रका बासिन्दा मौसमबाट प्रभावित भएका छन् । प्रहरीको टोली नियमित रूपमा कोरला नाकासम्म गस्तीमा जाने गरेको छ ।

चिसोकै कारण खोलाहरु मात्रै नभई, धाराहरुमा पानी समेत जमेका कारण समस्या भएको छ । चिसोका कारण धेरै मानिसहरु घर छाडेर पोखरा र आसपासका जिल्लामा व्यापार गर्न झर्दै आएका छन् । चौँरी, याक, भेडा च्याङ्ग्रे कुरुवाहरु मात्रै गाउँमा छन् ।

उत्तरी मुस्ताङको लोमान्थाङ बजारमा पनि मानिसहरु कमै मात्रामा देखिन्छन् । होटलहरु समेत धेरै ठाउँमा बन्द छन् । चिसोले जनजीवन अत्यधिक कष्टकर बन्न पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टाँसी नोर्बु गुरुङले जानकारी दिए ।

‘हिउँदका महिना स्थानियबासीका लागि ज्यादै कष्टकर हुन्छ,’ उनले भने, ‘चिसोबाट बच्न र दैनिक रुपमा जीवन चलाउन कठिन हुन्छ ।’ घरका धारा र सेप्टी ट्यांकी चिसोले जम्दा नागरिकलाई सास्ती भएको छ भने चिसो सिरेटोले बाहिर निसक्न मुस्किल पर्छ ।

स्थानीय गुइँठा बालेर घरभित्र बस्न बाध्य छन् । चिसो बढेपछि उपल्लो मुस्ताङको नरसिंह खोला, समर खोला, घिलिङ खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला र छोसेर जमेको छ । चिसोकै कारण तल्लो मुस्ताङमा पनि जनजीवन प्रभावित भइरहेको छ ।

तालहरु जमेका छन् भने जोमसोम, मुक्तिनाथ, कागबेनी, मार्फामा पनि बिहान धारामा पानी आउँदैन । बेलुका नै भाँडोमा पानी नराख्ने हो भने धारा जमेर शौचालय जानसमेत नसकिने अवस्था रहेको जोमसोमका होटल व्यवसायीहरू बताउँछन् । तल्लो मुस्ताङमा पनि चिसोले स्थानीय नागरिक घरबाहिर निस्कन सक्दैनन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ०७:३१

लोकप्रिय