२०८३ साउन १० , आइतबार 26, July 2026, Sunday

नरैनापुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ मंसिर २६ गते बुधबार
निर्माण कम्पनीको बेवास्ताले अलपत्र परेको नरैनापुर गाउँपालिकाको प्रशासकीय भवन ।

बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन निर्माण कम्पनी महालक्ष्मी–जुगल विल्डर्स जेबीको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अझै अधुरो छ ।

पटक–पटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले भवन निर्माणको काम नगरिदिएका कारण पालिकाको सेवा प्रवाह वडा कार्यालयबाट गर्न बाध्य रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । उनका अनुसार साबिकको नरैनापुर गाविस कार्यालयबाट नरैनापुर गाउँपालिकाले सेवा प्रवाह गर्दै आएको छ ।

नयाँ भवन निर्माण भइसके पनि पेन्टीङ्ग, फर्निचर र विद्युत् वायरिङ लगायतको फिनिसिङको काममा निर्माण व्यवसायीले ढिलाइ गरेकोले समस्या भइरहेको उनले बताए । गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतले आफ्नै भवन तयार नहुँदा गाउँपालिकाको काम साँघुरो भवनबाट हुँदै आएकोले काममा समस्या हुने गरेको आएको बताए ।

महालक्ष्मी–जुगल विल्र्डस जेबीका इन्जिनियर प्रविन श्रेष्ठले २०७९ साल असोज ३१ गते सम्पन्न गर्ने गरी भएको सम्झौता विभिन्न कारणले ०८१ साल पुरा हुन लाग्दा पनि सम्पन्न हुन नसकेको बताए । ठेक्का सम्झौता सकिएता पनि ठेकेदार कम्पनीलाई पालिकाले तेस्रो पटक म्याद थप गरेर ०८० साल फागुन २९ गतेसम्म काम सम्पन्न गर्न अनुमति दिएको थियो ।

निर्माण कम्पनीको लापरबाहीका कारण तेस्रो पटक म्याद थप हुँदासमेत काम सम्पन्न नहुँदा निर्माणाधीन भवन अलपत्र परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए । प्रमुख प्रशासकीय अधिकृत वलीले भने, ‘ठेकेदार कम्पनीलाई तत्काल काम सम्पन्न गर्न निर्देशन दिइसकेका छौ, तीन महिनाभित्रै काम सम्पन्न नगरे म्याद थप नगरी ठेक्का रद्द गर्ने चेतावनी पनि दिएका छौँ ।’

निर्माण कम्पनीका इन्जिनियर श्रेष्ठका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँको लागतमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि सङ्घीय सरकारले ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत अनुदानमा निर्माण सुरु भएको थियो । गाउँपालिकाको निर्माणाधीन भवनको भौतिक प्रगति ८५ प्रतिशत देखिएको जनाउँदै भवन निर्माणसँगै ठेकेदार कम्पनीले हालसम्म ४ करोड २८ लाख रुपैयाँ भुक्तानी लिएको लेखा अधिकृत बस्नेतले बताए ।

ठेकेदार कम्पनीले तेस्रो पटक सम्म पनि काम सम्पन्न गर्न नसकेपछि पाँचौँ पटकका लागि फेरी निवेदन दिए पनि पालिकाले ग्यारेन्टी पत्र र इन्सोरेन्स लगायत कागजातका आधारमा तीन महिनाको म्याद थप गर्नुपर्ने देखिन्छ । पटक म्याद थप गरेर पनि भवन पूर्ण रूपमा निर्माण हुन नसकेकोले म्याद थप गर्न पालिका असमर्थ रहेको जानकारी गराएर तीन महिनाभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलीले बताए ।

प्रकाशित मिति : २०८१ मंसिर २६ गते बुधबार