बालेन्द्र साह (बालेन) मेयरमा निर्वाचित भएर आएपछि देशको राजधानी काठमाडौँ महानगरपालिका चर्चाको शिखरमा छ । मेयर साहमा महानगर बनाउने हुटहुटी छ । उनले महानगरमा देखिने गरी केही काम पनि गरेका छन् । तर मेयर साहको टीमका सदस्यहरूले गर्दा महानगरपालिका भ्रष्टाचारको दलदलमा फसेको तथ्यसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ ।
उजुरी २०८१ मङ्सिर २१ गते दर्ता भएको हो । जसको दर्ता नम्बर सी–०३३२७५ रहेको छ । उक्त उजुरीमा मेयरले राखेका विज्ञहरूले मापदण्ड बिपरीत नक्सापास गर्नका लागि ठूला होटल र व्यापारिक कम्प्लेक्ससँग लाखौं बार्गेनिङ गर्ने गरेको उल्लेख छ । सुशासनका मामिलामा काठमाडौँ महानगरपालिका अत्यन्त कमजोर भएको र महानगरभित्र भ्रष्ट प्रवृत्ति मौलाएकोले त्यसलाई समयमै अनुसन्धान गरी रोकथाम गर्न उजुरीमा माग गरिएको छ ।
अख्तियारले विज्ञ अनुसन्धानकर्ता खटाई अनुसन्धान गर्न माग गरिएको छ । मेयरले राखेका टीमका सदस्यहरूले नै महानगरपालिकामा भवन निर्माण इजाजत तथा निर्माण सम्पन्नताको प्रमाणपत्र दिन घुस माग्ने गरेका छन् । काठमाडौँ महानगरपालिकामा शहरी योजना आयोगमा विज्ञको रुपमा नियुक्ति लिएका सन्तोष पाण्डे र हरिशचन्द्र लामिछानेले काठमाडौँको नक्सालमा रहेको होटल हिल्टनको निर्माण सम्पन्नको प्रमाणपत्र दिन घुस मागेका छन् ।
पाण्डेले ५ लाख र लामिछानेले १८ लाख घुस लिएको उजुरीमा उल्लेख छ । सुलभ अग्रवालको शंकर ग्रुपले निर्माण गरेको हिल्टन होटलले महानगरलाई अटेर गर्दै मापदण्ड बिपरीत नक्सापासबिना भवन निर्माण गरेको भए पनि बालेन साहले कुनै कारबाही गर्न सकेका छैनन् । बरु उनका सल्लाहकारहरूले नक्सापास गर्न मोटो रकम घुस बार्गेनिङ गरेको उजुरी अख्तियारमा परेको छ ।
त्यसो त विशाल पण्डितको बसेरा बुटिक होटलले सिंहदरबारभन्दा अग्लो भवन निर्माण गरेकोमा गृह मन्त्रालयले छानबिन समिति गठन गरी जफत गर्ने प्रतिवेदन दिए पनि महानगरका मेयर बालेन साहले कुनै कारबाही गर्न सकेका छैनन् । सर्वसाधारणले थोरै मापदण्ड मिच्दा घर भत्काउने मेयर साह र एसएसपी राजुनाथ पाण्डे हिल्टन र बसेरा होटलको सवालमा मौन बसेपछि प्रश्न उठ्न थालेको छ ।
पाण्डेले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई भवनको नक्सापास तथा दस्तखत गर्ने शाखाको इबिपीएस सिस्टम आफ्नो नियन्त्रणमा राखेर भवनको नक्सा पास तथा दस्तखत गर्नुअघि सबै कामको मोलमोलाई गरी कमिसन लिने गरेका छन् । उनले भवनको नक्सामा दस्तखत नगर्ने तर नक्सा बनाउन आफुनिकट कन्सल्टेन्सीमा दिनुपर्ने अनिवार्यता गराएका छन् । आफूले भनेको कन्सल्टेन्सीमा नबनाए नक्सापास तथा दस्तखत नगर्न सो शाखाका इन्जिनियरलाई पाण्डेले दवाब दिने गरेका छन् ।
दबाब दिदाँ पनि गलत काम गर्न नमानेपछि सुधा रिजाल र निलम भट्टराईलाई सरुवा गरिएको छ । १० हजार वर्ग फिट भन्दा माथिको नक्सा पासको निम्ति जुरी डेक्समा पठाउनुपर्नेमा पाण्डेले घुस नदिएमा फाइल सम्बन्धित डेक्समा नपठाएर सेवाग्राहीलाई दुःख दिने गरेका छन् । महानगरपालिकाका नगर प्रहरीका एसएसपी पाण्डेले नगर प्रहरीका इन्स्पेक्टर प्रकाश पण्डित र ईश्वरप्रसाद वाग्लेमार्फत् भवनको डिपिसी, नक्सापास, अवैध निर्माण कार्यमा अप्रत्यक्ष ढङ्गले दबाब दिई रकम उठाउने गरेको उजुरीमा उल्लेख छ ।
त्यसैगरी विभिन्न ठाउँमा मापण्डविपरीत बनिरहेका संरचनाहरूमा रकम माग्ने, नदिए मापदण्डविपरीतको निर्माण भनेर भत्काइदिने, रकम दिएमा नदेखेको जस्तो गर्ने गरेको र हाइटेन्सन लाइनमुनी कुनै पनि घर टहरा निर्माण गर्न नमिल्ने कानुनी व्यवस्थाविपरीत आर्थिक मोलाहिजाको आधारमा अनदेखा गर्ने गरेका छन् । ज्योति भवन कान्तिपथको घर खाली गराउने सम्बन्धमा कानुन तथा मानवअधिकार विभाग प्रमुख बसन्त अधिकारी र महानगरका एसएसपी राजुनाथ पाण्डेले सो मुद्दाका पक्ष विपक्षसँग सेटिङमा दोहोरो भूमिमा खेली ४० लाख घुस खाएको उजुरीमा उल्लेख छ ।
फुटपाथ निर्माण गरिरहेका ठाउँमा बनाउने ठेकेदार र निर्माण सामग्री उपलब्ध गराउने व्यापारीले पैसा दिएमा निर्माण भइरहेको ठाँउमा बार लगाएर सामग्री राख्न दिने, पैसा नदिएमा फुटपाथमा निर्माण सामग्री राखेको भन्दै जरिवाना तिराउने वा सामग्री उठाएर लैजाने गरेका छन् । बानेश्वर क्षेत्रमा फुटपाथ बजारको नाममा चोकभन्दा थोरैभित्र मुकेश पाण्डे नाम गरेका घर जग्गा धनीसँग वडा नम्बर १० का सचिव सुबोध खड्का र एसएसपी राजुनाथ पाण्डेको मिलेमतोमा चार तलाको आइबिमको टहारा नाक्सा पाससमेत नगरी बनाउन दिएका छन् ।
पाण्डेले उक्त फुटपाथ बजारको नाममा २७५ स्टल खडा गरी व्यापार सञ्चालन गर्दै आएका छन् । उक्त फुटपाथ बजारका कुनै पनि स्टल नियमअनुसार व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्नेमा सो नगरिएको र बजार सञ्चालक पाण्डेले समेत दर्ता नगरी बुझाउनु पर्ने व्यवसाय कर वा आयकार नतिरी मासिक १ करोड २० लाख भाडाबाट आम्दानी गर्ने गरेका छन् । यसको कमिशन वडा नम्बर १० का सचिव सुबोध खड्का र एसएसपी राजुनाथ पाण्डेले समेत लिने गरेको स्रोतले जनाएको छ । यस कार्यमा मेयर बालेन शाहका स्वकीयसचिव भूपदेव शाह समेतको मिलेमतो रहेको उजुरीमा उल्लेख छ ।
काठमाडौँ महानगरपालिकाको ‘जहाँ खाली त्यहाँ हरियाली’ कार्यक्रममा अन्र्तगत प्रत्येक वडामा हरियाली प्रवद्र्धन गर्ने भन्दै प्रत्येक वडामा विनाप्रतिस्पर्धा १०–१० लाखको काम दिइएको छ । सार्वजनिक खरिद ऐन नियमसमेत पालना नगरी दिइएको यस्तो कामको कमिसन मेयर साहका स्वकीयसचिव भूपदेव एवम् मेयरका सल्लाहकार अर्जुन घिमिरेसम्म पुग्ने गरेको छ । सेटिङको यो चाँजोपाँजो भूपदेव र अर्जुनले मिलाउने गरेका छन् ।
राजस्व विभागका प्रमुख दीपक अधिकारी र एससपी राजु पाण्डेको मिलेमतोमा सडकमा राखिने डिजिटल विज्ञापन बोर्डहरूको राजस्व छलछाम गरी कमिसन खाई महानगरको राजस्वमा हानी गरेको उजुरीमा उल्लेख छ । उजुरीमा उल्लेख छ–सानो गौचरणको फुटबल मैदान बनाउने काम ५ प्रतिशत कमिसन लिई योग्यता नै नभएको ठेकेदारलाई दिएर कानुन विभाग प्रमुख बसन्त अधिकारी र खरिद ईकाइका प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेका छन् । यसको कमिसन भूपदेव सल्लाहकार सुनिल लम्सालले लिने गरेका छन् । मेयरको क्वाटर र सचिवालय मर्मत गर्दा १ करोडको काम १० टुक्रा गरी विनाटेन्डर कोटेसनमा काम दिएर खरिद प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेका छन् ।
साथै यसमा कमिसन बापतको रकम स्वकीय सचिव भूपदेव र सल्लाहकार सुनिलले समेत लिने गरेका छन् । त्यसैगरी महानगरको सूचना प्रविधिको प्याकेज खरिद गर्दा खरिद एकाई प्रमुख रामरतन, मेयरका आईटी विज्ञ सल्लाहकार सुदिप ढकाल र सन्तोष पाण्डे तथा सुनिल लम्सालसमेतको मिलेमतोमा विनाप्रतिस्पर्धा टिप्पणी आदेशको भरमा गरिएको छ । करोडौँको सामग्री खरिद गर्ने गरेको सफ्टवेयर खरिदमा चरम अनिययिमतता गरिएको छ । महानगरका एससपी राजुनाथ पाण्डेले यसअघि २०७२ सालमा रानीमहल गजल भवनको निर्माण कार्यमा तत्कालीन कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारसमेतलाई गलत सूचना प्रवाह गरी रु ७ लाख घुस खाएको बिषय गुपचुप राखिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं