राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा ल्याइएपछि मानवअधिकार उल्लंघन भएको भन्दै रास्वपासहित अरू दलका नेताले पनि अभिव्यक्ति दिएका छन् । गएको बुधबार लामिछानेलाई चितवनमा बयान सकिएपछि मध्यरातमा पोखरा ल्याइएको थियो । मादक पदार्थ सेवन गरेका प्रहरी अधिकारीले रातमा औषधि समेत खान नदिई लामिछानेलाई जबर्जस्ती उठाएर हिँडाएको आरोप लगाइएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा ल्याइसकेपछि भेटेका नेताहरूले त्यस्तो अभिव्यक्ति दोहोर्याउँदै मानवअधिकारको गम्भीर उल्लंघन भएको जनाएका छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने गएको कात्तिक २ गतेयता कास्की प्रहरी हिरासतमा छन् । उनीमाथि अन्तिमपटक मंसिर ९ गते अनुसन्धानका निम्ति १५ दिनको म्याद थप गरिएको थियो, त्यो आइतबार सकिँदैछ ।
लामिछानेमाथि प्रहरीले सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । उनलाई कास्की ल्याइसकेपछि यहाँबाटै बयानका निम्ति कात्तिक अन्तिम साता रुपन्देही लगिएको थियो । त्यसपछि काठमाडौं र त्यतैबाट चितवन लगिएको थियो । पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यी सबै घटनामा लामिछाने जोडिएको विषयचाहिँ गोर्खा मिडिया र उनी त्यसका पूर्वसञ्चालक हुनु हो ।
सोही प्रकरणमा चितवन लगिँदा उनका समर्थकले व्यापक नाराबाजी र प्रदर्शन गरेका थिए । त्यसक्रममा झडप हुँदा केही सुरक्षाकर्मी र रास्वपाका कार्यकर्ता–समर्थक घाइते भएका थिए । बुधबार त्यहाँ उनको बयान सकिएपछि बिहीबार पोखरा ल्याउने प्रहरीको प्रारम्भिक तयारी थियो । लामिछानेले बिहीबार विमानमार्फत पोखरा आउने बताएका थिए । तर, प्रहरीले बुधबार आधारातमा उनलाई जबर्जस्ती पोखरा ल्याएको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी वसन्तकुमार शर्माले उनलाई राति ३ बजेतिर कास्की ल्याइएको र हिरासतमा रहेका बताएका थिए । ‘उहाँ (रवि लामिछाने)लाई पोखरा पुर्याउँदा त्यही बिहानको ३–४ बजेको थियो होला । अहिले जिल्ला प्रहरी कार्यालयको कस्टडीमा हुनुहुन्छ,’ उनले भनेका थिए । लामिछानेलाई चितवन हिरासतमा प्रहरीद्वारा गरिएको व्यवहार मानवअधिकारको गम्भीर उल्लंघन भएको भनेर टीकाटिप्पणी भइरहेको छ ।
यसबारे रास्वपाले मानवअधिकार आयोगमा उजुरी पनि दिएको छ । हिरासतमा रहेका व्यक्तिमाथि अमानवीय कार्य भएको भनेर लामिछानेप्रति अरू दलका नेताले पनि ऐक्यबद्धता जनाउन थालेका छन् । उनलाई आधारातमा पोखरा ल्याइएको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले असहमति जनाएका छन् ।
शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘नेपाली कांग्रेस मानवअधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ ।’ उनले लोकतान्त्रिक देशमा यस्तो हुनु गलत भएको पनि बताए । ‘…तर, राति १२ बजे उठाएर लैजाने भन्ने कुराचाहिँ अमानवीय काम हो । यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन । यो त हाम्रो लोकतान्त्रिक देश हो । त्यो बिल्कुल गलत हो,’ कोइरालाले भने ।
यसबारे कांग्रेसका तर्फबाट बोल्ने उनी पहिलो नेता हुन् । त्यसो त लामिछानेलाई चितवनबाट पोखरा ल्याइएपछि दिनहुँजसो उनलाई भेट्न अरू दलका नेता समेत पुग्न थालेका छन् । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबार लामिछानेलाई हिरासतमा नै भेटेका थिए । भेटपछि उनले लामिछानेलाई राज्यले दुःख दिएको बताएका थिए । लामिछानेमाथि राज्यले अस्वाभाविक र अन्यायपूर्ण व्यवहार गरेको भन्दै उनले रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।
उनले भनेका थिए, ‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रूपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव पनि छ । अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वाभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यबद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’ आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र उक्त सन्देश बाहिर लैजान लामिछानेले आग्रह गरेको भट्टराईले जानकारी दिएका थिए ।
‘उहाँले म (रवि)माथि राजनीतिक प्रतिशोध हो, मैले सबै गरिरहेको छु, गर्छु भन्नुभयो । यो सन्देश बाहिर पुगोस् भन्नुभएको छ । मैलेचाहिँ सधैँ सत्य र न्यायको पक्षमा लडेको मान्छे भएकाले सधैँ लड्छु र बोल्छु भनेको छु,’ डा.भट्टराइले भने । डा.भट्टराईले ऐक्यबद्धता जनाएको भोलिपल्ट (शनिबार) संसद्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि लामिछानेलाई हिरासतमा भेटे ।
भेटपछि शाहीले लामिछानेमाथि अमानवीय व्यवहार र मानवअधिकार उल्लंघन भएको सुनेकाले त्यसबारे सत्यतथ्य बुझ्न आएको बताए । उनले लामिछानेमाथि गम्भीर मानवअधिकार उल्लंघन भएको बताए । ‘चितवनमा उहाँलाई अमानवीय व्यवहार गरिएको छ । मानवअधिकारको गम्भीर उल्लंघन भएको छ । जसले गरेको हो, उनीहरूलाई कारबाही गरिनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । लामिछाने उच्च रक्तचापको बिरामी रहेको तर औषधि समेत खान नदिएर राज्यले मानवअधिकारको ठाडो उल्लंघन गरेको उनले आरोप लगाए ।
उनले त्यसमा संलग्न अधिकारीलाई कारबाही गर्न माग समेत गरे । शाही मानवअधिकारकर्मीको टोलीसहित लामिछानेलाई भेट्न हिरासतमा पुगेका थिए । लामिछानेमाथि प्रतिशोध साँधिएको उनले बताए । ‘प्रतिशोध नभएको भए अरू मान्छेलाई पनि ल्याएर थुन्नुपर्थ्यो । कानुनी राज्यको पालना सबैले गर्नुपर्छ । हामीले सबै अधिकार न्यायालयलाई दिएका छौँ, न्यायालयभन्दा जान्ने बुझ्ने हामी होइन, न्यायालयले जे गर्छ, त्यो स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘तर, हिरासतमा भएको अमावनीय घटनाको चाहिँ खेद प्रकट गर्दछु । हिरासतमा मानवअधिकारको उल्लंघन गर्न पाइँदैन । हिजो ममाथि पनि यस्तो भएको थियो ।’
मादकपदार्थ सेवन गरेका प्रहरीले आएर मध्यरातमा उठाएको भनेर लामिछानेले भनेको भन्दै शाहीले राज्यआतंक भएको बताए । ‘हिरासतमा भएका व्यक्तिलाई जाँड खाएको प्रहरी आएर उठाएर, तानेर, अहिले जो रास्वपाका सभापतिले जुन कुरा मसँग गर्नुभयो, उहाँको कुराअनुसार त जाँड खाएको प्रहरी आएर रातको ११–१२ बजेतिर आएर उठेर कतै मलाई मारिदिन्छन् कि भनेर मैले चाहिँ ठाउँठाउँमा प्रहरीलाई कहाँ लैजान लागेको भन्नुपर्ने अवस्था सिर्जना, जुन राज्यआतंक भएको छ, यो हुनु हुँदैन,’ शाहीले भने ।
लामिछानेलाई पोखरा ल्याइएपछि स्वास्थ्य जाँच गरिएको र उक्त रिपोर्ट नलुकाई सार्वजनिक गर्न उनले प्रहरीलाई आग्रह गरे । उक्त रिपोर्टमा लामिछानेमा उच्च रक्तचाप देखिएको शाहीको जिकिर छ । ‘दुःख परेको बेला साथ दिन आएको हुँ । मानवीयताको नाताले आएको हुँ । कानुनी प्रक्रियामा मेरो भन्नु केही छैन, तर हिरासतमा लगेपछि देशको पूर्वगृहमन्त्री, प्रतिनिधिसभा सदस्यलाई राज्यआतंक गर्न पाइँदैन । त्यो गरेपछि किन गरियो भनेर उहाँको मुखबाट सुन्न आएको हुँ,’ उनले भने ।
मानवअधिकारकर्मीले पनि रातको समयमा जुनसुकै अवस्थामा त्यसरी जबर्जस्ती ल्याउन नपाइने बताए । ‘यो अमानवीय कुरा, नेपालको संविधानदेखि मानवअधिकारको अन्तर्राष्ट्रिय मान्यताको विपरीत भएको छ । यसको बारेमा अनुसन्धान गरेर वास्तविक कुरा लिन्छौँ । प्रमाणित भए यो मुद्दा हेगमा समेत लैजान सक्ने तागत हामीमा छ,’ नेपाल मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले भने ।
लामिछानेमाथि बदला लिने भावमा शारीरिक र मानसिक रूपमा ‘ह्यारेसमेन्ट’ गरिएको उनको भनाइ छ । ‘मानवअधिकारको उल्लंघन गरेको घटना त मध्यरातमा चितवनबाट ल्याउँदैमा देखिएको छ । दिनको समयमा ल्याउँदा पनि कुनै आपत्ति हुन सक्ने स्थिति थिएन । तर, शारीरिक र मानसिक रूपमा ह्यारेस गर्न, रिभेन्ज लिने हिसाबले यो भइराखेको हो भन्ने अनुमान हामीले गरेका छौँ,’ थापाले भने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं