सूचनाको शक्ति - The Power Of Information

        

‘अख्तियारको अनुसन्धान अधिकृत’ र ‘गृहमन्त्रीको पीए हुँ’ भन्दै धम्की दिएपछि…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत भन्दै कर्मचारीलाई धम्की दिने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी छन् । उनलाई अख्तियारकै टोलीले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ ।

बुधबार साँझ पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । चौधरीमाथि अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीका प्रवक्ता तथा एसपी नवरन्त पौडेलले बताए । उनले राजश्व अनुसन्धान कार्यालय पथलैया, बाराका कर्मचारीलाई समेत धम्की दिएको खुलेको छ । चौधरीले आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको भन्दै फोन गरेर धम्की दिने गरेका थिए ।

यसैबीच, गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री लेखकको पीए र सल्लाहकार बताउने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । नक्कली पीए भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए ।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि सुक्ष्म रूपमा जानकारी लिइरहेको थियो । नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए र सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार ०६:४८

लोकप्रिय