सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री चीन भ्रमणमा जाने बेला त्रिभुवन विमानस्थल बन्द

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ । प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान–अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

‘राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास हो,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

उनका अनुसार प्रधानमन्त्रीज्यूको जहाज उड्नुअघि २५ मिनेट र उडेपछि ५ मिनेट अरू जहाज रोकिन्छन् । उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’ यसका लागि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नोटिस फर एयरमेन (नोटाम) जारी गरिसकिएको उनले जानकारी दिए ।

नोटाम अनुसार अहिले बिहान १०ः३५ बजेबाट ११ः०५ बजेसम्म अरू वायुसेवा कुनैको पनि उडान–अवतरण हुँदैन । प्रधानमन्त्री ओलीको जहाज ११ बजे उडेको ५ मिनेटपछि मात्र अन्य वायुसेवाको नियमित उडान हुनेछ ।

नोटाम अनुसार सबै वायुसेवाले आफ्ना उडान तालिका मिलाइसकेको भुलले जानकारी दिए । ‘धेरै उडान प्रभावित हुँदैनन्, सामान्य हुने हो,’ भुलले भने, ‘यात्रुहरूलाई नाव्टाम अनुसार वायुसेवा कम्पनीहरूले खबर गरिसकेका छन् ।’

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १०:५३

लोकप्रिय