विषादीको प्रयोग र विद्युत् प्रवाह गरी माछा मार्ने क्रम नरोकिँदा रुपन्देहीका पुराना नदीमा स्थानीय जातका माछा लोप हुँदै गएका छन् । रुपन्देहीको तिनाउ, दानव, कञ्चन, घाँघरा लगायतका खोलामा केही वर्षअघिसम्म यहाँ स्थानीय जातका माछा पाइन्थ्यो ।
तर पछिल्लो समय विषादी र विद्युत् प्रवाह गरी माछा मार्ने क्रम बढ्दै जाँदा स्थानीय जातका माछाका प्रजाति नै लोप हुने अवस्था छ । पानी नसुक्ने नदीमा विषादी प्रयोग र विद्युतीय धरापका कारण स्थानीय जातका माछा लोप हुने क्रम बढेपछि पशु सेवा अस्पतालले केही वर्ष अघिदेखि दानव, तिनाउ लगायतका नदीमा विकास माछाका भुरा छोड्दै आएको छ ।
तर छाडिने माछाका भुरा बढेर कहाँ जान्छन् भन्ने गणना भने हुन सकेको छैन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका निर्देशक दीपक भुसालले खोलामा विषादी छर्केर माछा मार्ने क्रम बढिरहेको बताउँदै त्यसबाट प्राकृतिक जलचर नष्ट भइरहको भन्दै चिन्ता व्यक्त गरे ।
रुपन्देहीको शुद्धोधन–४, मानपकडीका लोकनाथ न्यौपानेले तिनाउ, दानव लगायतका ठुला नदी र स्थानीय खोलामा समेत अहिले विषादीको प्रयोग तथा विद्युत् प्रवाह गरी माछा मार्ने क्रम बढेको बताए । उनका अनुसार यो काममा स्थानीय गाउँले तथा युवाको नै संलग्नता छ । नदीमा माछा संरक्षण गर्ने तथा माछा मारेको पाइए कारबाही गर्ने संयन्त्र प्रभावकारी नहुँदा माछा मार्ने क्रम बढेको हो ।
उता वातावरणीय सन्तुलन कायम राख्ने र पोखरी तथा नदीमा माछा छोडेर स्थानीय जनताको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्ष रुपन्देहीका तलाउ र नदीमा माछाका भुरा राख्ने काम भइरहेको छ । यो वर्ष पनि विश्व मत्स्य दिवसका अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका–४ मा रहेको १२ बिघा पोखरीमा एक साताअघि १० हजार माछाका भुरा छोडिएको छ ।
स्थानीय समुदायको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सिमसार क्षेत्रका रूपमा विकास गरिँदै गरेको १२ बिघा तालमा रोहु र नैनी जातका माछाका भुरा छाडिएको हो । यसरी छाडिएका माछाका भुरा जोगाउन भने चुनौती देखिएको रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रुपन्देही