सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–९ श्रीलंका टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक ३० लाख रूपैयाँ आम्दानी गर्दै आएका छन् । विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उनले गोलभेँडा खेतीलाई प्रमुख उत्पादनको स्रोत बनाएका हुन् ।
श्रीलंका टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडी लगायत मौसम अनुसार तरकारी उत्पादन भइरहेका छन् । अर्जुनको व्यवसायमा उनका चार छोराले साथ दिइरहेका छन् । कृषि कर्मको आम्दानीबाट जीविकोपार्जन भइरहेको बताउँदै अर्जुनले गोलभेँडाबाट मात्रै सबै खर्च कटाएर २० लाख रूपैयाँ बचत हुने गरेको जानकारी दिए ।
अहिले करिब चार बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरिरहेको अर्जुनका छोरा श्रीराम चन्द्रवंशीले बताए । गोलभेँडाबाट वार्षिक ३० लाख रूपैयाँ आम्दानी हुनेमा खेतीमा प्रयोग गर्ने मल, कर्मचारी लगायतको वार्षिक १० लाख रूपैयाँ जति खर्च हुने गरेको उनले बताए ।
श्रीराम भने, ‘कृषिकर्म हाम्रो पुर्खौली पेसा हो । सुरुवाती समयमा सागसब्जी, आलु, कोपी लगायत खेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडाबाट मनग्ये आम्दानी हुन थालेपछि यसप्रति बढी आकर्षित हुन थालेका हौँ ।’ गोलभेँडा अहिले थोकमा प्रतिकेजी एकसय रूपैयाँमा फार्मबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका उनले बताए ।
‘गत असोजमा आएको बाढीले चार कठ्ठा जति खेतीमा क्षति गर्यो । बारीमा छरेको मल बगाउनुका साथै केही डुबानमा पनि पर्यो । बाढीले करिब तीन लाख रूपैयाँभन्दा बढीको क्षति भएको थियो । अहिले भने मौसमले साथ दिएकाले उत्पादन राम्रो भइरहेको छ,’ श्रीरामले भने । गोलभेँडाको माग प्रशस्त भएकाले बजारीकरणको समस्या नरहेको उनले बताए ।
‘उत्पादित कृषि उपज बजार बोकेर लैजानुपर्दैन । व्यापारी आफै गोलभेँडासहित अन्य सागसब्जी खरिद गर्न खेतबारीमै आउनुहुन्छ । यहाँ आउनेलाई बजार मूल्यभन्दा २० रूपैयाँ कम लिने गरेका छौँ,’ श्रीरामले भने । धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, बराहक्षेत्र लगायत स्थानबाट व्यापारी फार्ममा गोलभेँडा खरिद गर्न आउने गरेका उनले जानकारी दिए ।
गोलभेँडा खेतीमा लगानी र दुःख बढी भए पनि मेहिनत गरेअनुसार प्रशस्त उत्पादन हुने भएकाले नोक्सान नहुने श्रीरामले अनुभव सुनाए । परिवारका चार दाजुभाइसहित थप २० जनाले रोजगारी पाएका उनले बताए । गोलभेँडाको मौसममा कम मूल्यमा बिक्री गर्नुपरे पनि बेमौसममा एकसय रूपैयाँदेखि १५० रूपैयाँसम्ममा बिक्री हुने श्रीरामले जानकारी दिए ।
उनका अनुसार वार्षिक ६ सय क्विन्टल बढी भोलभेँडा बिक्री हुने गरेको छ । अहिले करिब २० बिघा क्षेत्रफलमा कृषिखेती गर्दै आएको बताउँदै करिब चार बिघामा गोलभेँडा, चार बिघामा मकै र बाँकी जग्गामा कोपी, बोडी लगायत सागसब्जी खेती गरिरहेको श्रीरामले जानकारी दिए ।
जिल्लामा हाल आठ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । ‘जिल्लाको बराहक्षेत्र नगरपालिकामा बढी मात्रामा गोलभेँडा, कोपी, बोडी लगायत सागसब्जीको प्रशस्त उत्पादन हुन्छ,’ उनले भने ।
उनका अनुसार गत असोजमा आएको बाढीले ३५४ हेक्टरभन्दा बढी खेती नष्ट गर्दा चार करोड ५२ लाख रूपैयाँ बराबरको क्षति भएको छ । सिँचाइ सुविधा, मलको उपलब्धता लगायत कारणले पछिल्लो समय नगरभित्र गोलभेँडासहित सागसब्जीको उत्पादन प्रशस्त हुन थालेपछि यहाँका अधिकांश परिवार यसतर्फ आकर्षित भएका नगर प्रमुख रमेश कार्कीले बताए । यहाँका करिब ९० प्रतिशत परिवार तरकारी खेतीमा आबद्ध छन् ।
‘श्रीलंका टप्पु तरकारी खेतीका लागि प्रख्यात क्षेत्र मानिनुका साथै बजारीकरणको समस्या नभएकाले कृषकको आकर्षण बढेको हो,’ उनले भने । नगरपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक तरकारीखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायत क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको नगरप्रमुख कार्कीले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुनसरी