कोभिड महामारीको समयसम्म नेपालमा ९९ प्रतिशत टायल भारतबाट आयात हुन्थे । नेपालमा कुनै राम्रो उद्योग थिएनन् । वार्षिक साढे १० अर्ब रुपैयाँको टायल नेपाल भित्रिने गरेका थिए । कोभिड महामारीसँगै नेपालमा टायल उद्योग खुल्न थाले । नेपालमा बढ्दो खपत र आयात प्रतिस्थापन गर्न आधा दर्जन उद्योग नेपालमै खुलिसकेका छन् ।
व्यवसायीहरुले नेपालमै अर्बौँ रुपैयाँ लगानी गरे । नेपालमा रोजगारी सिर्जना गरिरहेका छन् । आयातित टायलको सट्टा नेपालमै उत्पादन भएकाले बजार लिँदै छन् । नेपालमा खुलेका उद्योगले पनि पछिल्लो २ वर्षयता आफ्ना उत्पादन बजारमा पुर्याएका छन् । अबको केही वर्षमा टायलमा आत्मनिर्भर हुने उद्योगी बताउँछन् ।
नेपालमा सहरी जनसंख्या बढ्दै जाँदा पूर्वाधारका संरचना पनि सहरमै विकास हुँदा टायल खपत समेत बढ्ने आकलन छ । सामान्यतः हरेक वर्ष करिब १० प्रतिशत बजार बढ्दै आएको छ । हालै बर्दियाको गुलरियामा नयाँ उद्योग लुम्बिनी सेरामिक्स लिमिटेड सञ्चालनमा आएको छ । लेमिनार ब्रान्डको रुपमा बजारमा आएको टायल्स काठमाडौंको उत्तर ढोकामा एक्सिपिरियन्स युनिट राखेको छ ।
१२.५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा विभिन्न व्यवसायीको लगानी छ । कम्पनीको अध्यक्ष सुब्रत धिताल छन् । सञ्चालकहरुमा श्याम सुन्दर खेतान, आशुतोस खेतान, सिन्नी खेतान, शशी चौरिवाल, सिर्जन अर्याल छन् । कम्पनीले एक दिनमा एक लाख ४० वर्गफिट टायल उत्पादन गर्न सक्छ । गत भदौ १ बाट उत्पादन सुरु गरेको थियो ।
दशैँसम्म परीक्षणको रुपमा सञ्चालन गरे पनि दशैँपछि आफ्ना उत्पादन बजार पठाउन थालेको छ । ‘नेपालमै खुलेका टायल्स भारतीयभन्दा २० प्रतिशत सस्तो हुन्छ,’ लुम्बिनी सेरामिक्सका अध्यक्ष सुब्रत धिताल भन्छन्, ‘हाम्रो उद्योगले अन्य नेपाली उद्योगभन्दा पनि १० प्रतिशत कममै टायल बजारमा ल्याएको छ ।’
उद्योगमा जडान गरिएका टायल्स स्पेन, इटाली, चीन र भारतबाट नयाँ प्रविधिसहितका छन् । टायलको डिजिटल प्रिन्टर र गुणस्तर चेक गर्ने मेसिन इटालीबाट ल्याएको छ । इंक ग्रेज इटाली र स्पेनका कम्पनीको भएको जनाएको छ । ‘चार लाख ३५ हजार वर्गफिटमा उद्योगका संरचना बनेका छन्,’ लुम्बिनी सेरामिक्सका निर्देशक शशी चौरिवाल भन्छन्, ‘उद्योगमा कुल लगानी करिब चार अर्ब छ ।’
करिब ३०० कर्मचारीलाई रोजगारी दिएको छ । जसमा केही प्राविधिक जदशक्ति विदेशी छन् । लुम्बिनी सेरामिक्सले शतप्रतिशत भिट्रिफाइ टायल बनाउँछ । जुनमा पानी नछिर्ने, कडा र छिटै फुट्ने सम्भावना कम हुन्छ । सेरामिक्स टायलले वाटर प्रुफ ९६ प्रतिशतसम्म हुन्छ भने भेट्रिफाइड टायल्सको ९९.९२ प्रतिशत वाटर प्रुफ हुन्छ । यसले भेट्रिफाइड टायल्सको आयु लामो हुन्छ ।
‘नेपाली उद्योगले भिट्रिफाइड टायल उत्पादन नगरे पनि गलत ब्रान्डिङ गरिरहेका थिए,’ चौरिवाल भन्छन्, ‘लेमिनारका टायल शतप्रतिशत भेट्रिफाइड नै उत्पादन गरेका छौँ ।’ नेपालमा सेरामिक्स टायल उत्पादन हुने गरेको छ । भिट्रिफाइड टायल आयात गर्नुपर्ने अवस्था रहेकाले नयाँ उद्योग खुलेको उनी बताउँछन् ।
घर वा अफिसभित्र र बाहिर जुनसुकै ठाउँमा प्रयोग हुने टायल बनाउँछ । कम्पनीले ५०० फरक डिजाइनका टायल बनाउँछ । टायल म्याट, ग्लोसी, म्याट कार्भिङ, हाई ग्लोस, ग्रिप ९, फुल बडी र लक्जरी डिजाइनका ट्रु म्याट टायल्स बनाउँछ । कम्पनीले अर्डरअनुसार डिजाइन र साइज समेत बनाएर दिन सक्छ ।
कुनै कम्पनीले आफ्नो लोगोसहितको टायल बनाउन चाहे लेमिनारले पूरा गर्छ । हाल नेपाली बजारलाई नै लक्षित गरेर खोलेको उद्योगले भविष्यमा छिमेकी मुलुकमा समेत निर्यात गर्नसक्ने लक्ष्य राखेको छ । कम्पनीले सुरुमा भारतबाटै कच्चा पदार्थ ल्याएर टायल्स उत्पादन गरिरहेको छ । यसले कम्पनीको उत्पादनमा स्थिर र एकै गुणस्तरको बनाउन मद्दत गर्छ ।
तर आगामी दिनमा कम्पनीले नेपाली माटो लगायतका कच्चा पदार्थबाटै निर्माण गर्न सक्ने जनाएको छ । आफ्नो उत्पादनलाई देशभर पुर्याउन कम्पनीले डिलर बनाउँदैछ । यसमार्फत अबको केही महिनाभित्रै नेपालका अधिकांश ठाउँमा उपलब्ध हुने जनाएको छ । सामान्यतया माटो र खनिज पदार्थबाट टायल उत्पादन हुने भएकाले धेरै वातावरण प्रदूषणमा धेरै असर गर्दैन ।
तर उद्योगहरुले धूलो र माटो पकाउँदा प्रयोग हुने कोइलाको धूवाँलाई ‘रिफाइन’ भने गर्नुपर्छ । कम्पनीले उद्योगमा ढल प्रशोधन केन्द्र, वेस्ट ट्रिटमेन्ट प्लान्ट स्थापना गरेको छ । उद्योगभित्र धूलो कम गराउने उपकरण जडान गरिएको छ । नेपालमा धमाधम टायल उद्योग खुले पनि सम्भावनासँगै चुनौती पनि कायमै छन् ।
नेपालको अर्थतन्त्रको गति कम हुँदा टायल उद्योगलाई समेत प्रभाव परेको छ । निर्माण क्षेत्र बढ्दा टायलको खपत बढी हुन्छ । नेपाली दक्ष जनशक्ति नहुँदा विदेशी कामदारको भर छ । नेपालमा टायल उद्योगको सम्भावना बढ्दो छ । अन्य देशसँग तुलना गर्दा प्रतिव्यक्ति टायल खपत कम छ ।
विभिन्न प्रकारका माटोबाटै टायल्स बन्छन् । लेमिनार ब्रान्ड उत्पादन गर्ने कम्पनीले ६० टन माटो एकैपटक टायल निर्माणको प्रक्रियामा पठाउन सक्छ । माटोमा पानी मिलाएर घुलेपछि माटोको पानीलाई कोइला भट्टीमा हालेर सुकाइन्छ । टायल्सका लागि चाहिने कच्चा पदार्थको रुपमा धूलो माटो निस्किन्छ ।
उक्त माटोलाई प्रेसर दिएर टायल्सको आकार दिइन्छ । पाँच हजार टन क्षमताको प्रेसर मेसिन जडान गरिएको छ । ती कच्चा टायल्सलाई १२ सय डिग्रीको तापक्रममा पकाएपछि कडा हुन्छन् । एक पटक पकाएपछि डिजिटल प्रिन्टिङको लागि लागिन्छ । टायलको माथि कलरले डिजाइन बनाइन्छ । भुइँमा लगाइने टाइल कलर मात्रै लगाउँदा छिट्टै जाने भएकाले मेसिनले एक तहको ‘कोट’ लगाइन्छ ।
डिजाइनअनुसार बनिसकेका टायल्सलाई मेसिनले चार–पाँच चरणमा सफा गर्छ । फुटेका टाइल्स बाहिर निकालिन्छ । त्यसपछि पुनः टायल्सलाई भट्टीमा हालेर पकाइन्छ । अन्तिममा मेसिनबाट निस्किएका टायलको गुणस्तर चेक हुन्छ । यी सबै प्रक्रिया उपकरणको सहायताले नै गरिन्छ । यसरी बनाएका टायल्स बलिया हुन्छन् । फुट्ने सम्भावना एकदमै कम हुन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बर्दिया