सूचनाको शक्ति - The Power Of Information

        

एनपीएल : विराटनगरलाई पराजित गर्दै जनकपुरको विजयी सुरुवात

लाहिरु मिलान्थाको आक्रामक ब्याटिङमा जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई आठ विकेटले पराजित गर्दै एनपीएलमा शानदार जित दर्ता गरेको हो ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । तेस्रो विकेटका लागि लाहिरु मिलान्था र हर्ष ठाकेरले ११६ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टाएको हो । मिलान्थाले ५२ बलमा ९ चौका र २ छक्का सहयोगमा ७५ रनमा अविजित रहे ।

ठाकेर ३३ बलमा २ चौका सहयोगमा २९ रनमा नटआउट रहे । मिलान्थाले १२ औँ ओभरको पहिलो बलमा अर्धशतक पूरा गरे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै टोलीका लागि पहिलो अर्धशतक पूरा गरेका हुन् । एनपीएलमा यो दोस्रो अर्धशतक हो । मार्की आशिफ शेख पहिलो ओभरको चौथो बलमा नै बोल्ड आउट भए ।

आशिफ शुन्य रनमा नै क्रिस सोलेको बलमा आउट भए । कप्तान अनिल शाह ५ रनमा बोल्ड आउट भए । अनिल दोस्रो ओभरको अन्तिम बलमा सोलेको बलमा बोल्ड आउट हुन पुगे । विराटनगरका क्रिस सोले र प्रतिश जिसीले समान एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो ।

विराटनगरका लागि मार्टिन गुप्टिलले सर्वाधिक ५५ रनको योगदान दिए । उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे । गुप्टिल १४ औँ ओभरको अन्तिम बलमा हर्ष ठाकेरको बलमा अनिल शाहको हातबाट क्याच आउट भए । गुप्टिलले १३ औँ ओभरको पहिलो बलमा बेन माइकलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ओपनर लोकेश बम ५ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट भए । ललित राजवंशीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिर्दै लोकेशलाई पेभेलियनको बाटो देखाए । नवौँ ओभरको दोस्रो बलमा अकिब इलियास १५ रन बनाउँदा आउट भए ।

जनकपुरका मोहम्मद मोहसिनले अकिब इलियासलाई एलबीडब्लु धरापमा पारे । १२ औँ ओभरको अन्तिम बलमा निकोलस किर्तन ९ रन बनाउँदा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए । बसिर अहमद र सन्दीप लामिछाने समान ७ र राजेश पुलामी १ रनमा आउट भए । प्रतिश जिसी २ रनमा बोल्ड आउट भए ।

जितेन्द्र मुखिया शुन्य रनमा नै बोल्ड आउट भए । किशोरले १८ औँ ओभरको तेस्रो बलमा सन्दीप र चौथो बलमा जितेन्द्र मुखियालाई आउट गराए । जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए । हर्ष ठाकेर र किशोर महतोले समान २ विकेट झारे । मोहम्मद मोहसिन र वेन माइकले समान एक विकेट आफ्नो नाममा गरे ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार १५:५०

लोकप्रिय