सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय प्रसारणमा जोडियो सुपर काबेली ‘ए’ को विद्युत्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरेको छ ।

काबेली खोलामा निर्माण भएको सो आयोजनाको विद्युत् उत्पादन क्षमता १३.५ मेगावाट छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि शुरु भएको थियो । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

सिरिजङ्घा–८ याम्फुदिनको राते खोलामा रहेको विद्युत गृहबाट अमरपुर सब–स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेको प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ । सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो । २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको जनाइएको छ ।

करिब दुई अर्ब ६३ करोड २९ लाखको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । सोही क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१ दशमलव १३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । यसले स्थानीय र राष्ट्रिय ऊर्जा उत्पादनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार १४:४६

लोकप्रिय