सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीमा २० एसएसपीका लागि ३८ एसपी प्रतिश्पर्धामा

नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी भएको छ । प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त छन् । केही डीआइजीमा बढुवा भएका र केही एसएसपीबाटै अवकाश भएपछि रिक्त पद संख्या २० पुगेको हो । यसअघि एआइजी र डीआइजी बढुवा भएकाले अब एसएसपीमा बढुवा गर्न लागिएको हो ।

प्राविधिकतर्फ रिक्त एसएसपीमा बढुवा सिफारिस भइसकेको छ । जनपदतर्फ भने आकांक्षीको संख्या धेरै हुँदा बढुवा सिफारिसमा सकस परेको हो । रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू लबिइङ गरिरहेका छन् । २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरू अहिले बढुवाका लागि जोड गरिरहेका छन् ।

यीमध्ये पनि दुईपटकमा एसपी भएका ३८ जना मुख्य दाबेदार देखिएका छन् । एसपीकै वरीयता एसएसपीमा पनि निश्चित नभएकाले यसअघि पछि परेकाहरू पनि शक्तिकेन्द्र रिझाएर बढुवा हुने कोसिसमा छन् । ९ वर्ष पहिले नै एसपीमा बढुवा भएका विमल बस्नेत यसपटक एसएसपी बन्ने लाइनमा छन् । हालका एसपीमा उनी सबैभन्दा वरिष्ठ हुन् ।

तर कारबाहीमा परेका कारण उनको बढुवा रोकिएको थियो । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएको टोलीका उनी मात्रै एसपीमा रोकिएका हुन् । उनकै ब्याचका सिद्धिविक्रम शाहसहितका अधिकारीहरू डीआइजीमा बढुवा सिफारिस भइसकेका छन् । बाँकी एसएसपी छन् । तर कारबाहीकै कारण बस्नेत भने छुटेका थिए । उनी यसपटक एसएसपीमा बढुवा हुने करिब निश्चित छ ।

यस्तै, २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर पछि परेका एसपीहरू पनि अहिले बढुवाको लागि लबिइङ गरिरहेका छन् । उनीहरू २०५८ को टोलीसँग २०७५ माघमा एसपीमा बढुवा भएका थिए । २०५६ को टोलीका गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल पनि अहिले एसएसपीमा बढुवा हुने सूचीमा छन् । बाँकी २०५८ सालको टोलीका एसपीहरू एसएसपी बन्ने सूचीमा छन् । यो ब्याचबाट रमेश थापा पहिलो नम्बरमा एसपी भएका थिए ।

उनी अहिले पनि अघिल्लो वरीयतामै बढुवा हुने सम्भावना बढी छ । यस्तै प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपीमा बढुवा हुन लागिरहेका छन् । रन्जु सिग्देल अहिले एसएसपीमा बढुवाका लागि एक्लो महिला प्रतिस्पर्धी हुन् ।

कमल थापा भने अहिले अनुसन्धानमा तानिएकाले बढुवाको सम्भावना कम छ । उनीमाथि भैँसेपाटीको हनी ट्र्याप प्रकरणमा अनुसन्धान भएको थियो । अहिले पनि उनीमाथि अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ । तत्कालै उनको बढुवा हुने सम्भावना कम देखिएको छ । यही ब्याचका तर एसपी बढुवामा पछि परेका टोलीबाट पनि केही अधिकारीहरू एसएसपीमा बढुवा हुनेछन् ।

२०७७ वैशाखमा एकसाथ २४ डीएसपीलाई एसपीमा बढुवा गरिएको थियो । त्यतिबेला पहिलो नम्बरमा बढुवा भएका थिए तुलबहादुर कार्की । उनीसहित होबिन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराई मध्येबाट पनि केही एसएसपीमा बढुवा हुनेछन् ।

यही ब्याचका प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला पनि एसएसपी बन्न लबिइङमा छन् । उनीहरू सबै २०७७ मा एसपीमा बढुवा भएका हुन् । सँगै भर्ना भए पनि २०७७ वैशाखभन्दा पछि एसपीमा बढुवा भएका अधिकारीको भने अहिले एसएसपी बन्ने सम्भावना न्यून छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ०७:३२

लोकप्रिय