सूचनाको शक्ति - The Power Of Information

        

धनराजलाई जोगाउन सीआइबीका डिएसपीको सरूवा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का दुई डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार आर्थिक अपराध सम्बन्धी अनुसन्धान गर्ने २ नम्बर पिलरका प्रमुख डिएसपी सुवास हमाल र अर्का डिएसपी पुरुषोत्तम कार्कीको अकस्मात सरुवा गरेको हो ।

डिएसपी हमालको धादिङ जिल्ला प्रहरी कार्यालयमा सहायक कार्यालय प्रमुखका रूपमा काज सरुवा गरिएको छ भने कार्कीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय खटाइएको छ । डिएसपी हमालकै नेतृत्वमा कांग्रेस नेता धनराज गुरुङमाथि ललितपुरको मितेरी सहकारी ठगीको अनुसन्धान भइरहेको थियो ।

धनराजविरुद्ध भइरहेको अनुसन्धान प्रभावित पार्नकै लागि उनलाई हटाइएको आशंका गरिएको छ । गुरुङसँग सिआइबीले सामान्य सोधपुछ गरेकामा थप विवरणहरू मागेर अनुसन्धान थालेको थियो । त्यस्तै ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहरीएका गण्डकी प्रदेश सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई डिएसपी कार्कीकै नेतृत्वमा पक्राउ गरिएको थियो ।

सत्तारूढ दलको स्वार्थअनुसार काम गर्ने डिएसपी खोजेर पठाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । पछिल्लो समय प्रहरी अनुसन्धान सत्ताको निर्देशनअनुसार चलेको भन्दै आलोचना भइरहेको छ । सत्तानिकटलाई जोगाउने र विपक्षी दलका गल्ती खोजी–खोजी प्रतिशोध लिन प्रहरीलाई प्रयोग गरेको आरोप लागिरहेका बेला डिएसपी हमाल र कार्कीको सरुवाले प्रहरीको चौतर्फी आलोचना सुरु भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार १०:००

लोकप्रिय