नागरिकलाई सहजरूपमा यातायात सेवा प्रदान गर्ने र विकासको अपेक्षित लाभ पुर्याउने लक्ष्यका साथ सुरू गरिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका छ वटा राष्ट्रिय गौरवका आयोजनालाई शीघ्र सम्पन्न गर्नुपर्ने माग र दबाब भए पनि अनेकन उल्झन देखापरेको छ ।
पूर्वतयारी नगरी सुरू गरिएका त्यस्ता आयोजनामा निर्माण सामग्रीको अभाव, स्रोत तथा साधनको कम उपलब्धता, रूख कटान प्रक्रियामा लामो समय लाग्ने गरेको छ । विनियोजन भएको बजेट अपुग भएको, राष्ट्रिय निकुञ्जमा सडक तथा पुल निर्माणमा समस्या रहेको स्वयं मन्त्रालयकै विश्लेषण छ ।
कुल २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना, हुलाकी लोकमार्ग आयोजना, उत्तर–दक्षिण कोशी करिडर लोकमार्ग आयोजना, उत्तर–दक्षिण कालीगण्डकी करिडर लोकमार्ग आयोजना, उत्तर–दक्षिण कर्णाली करिडर लोकमार्ग आयोजना, पूर्वपश्चिम विद्युतीय रेलमार्ग आयोजना छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना आर्थिक वर्ष २०६४–०६५ मा सुरू भएको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो कार्यकालमा मध्यपहाड हुँदै सहज यातायात सञ्चालन गर्ने लक्ष्यका साथ यो आयोजना अगाडि बढाएका थिए । आव २०८४–०८५ सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको सुरू लागत ३३ अर्ब ३६ करोड बराबर रहे पनि संशोधित लागत ८४ अर्ब ३३ करोड पुगेको छ ।
आयोजना अन्तर्गत एक हजार ८७९ किलोमिटर सडक र १३७ वटा पुल निर्माण हुनेछ । सो आयोजनाको भौतिक प्रगति ७७ दशमलव ३२, वित्तीय प्रगति ८२ दशमलव शून्य तीन प्रतिशत पुगेको छ । हालसम्म एक हजार ४५२ किलोमिटर सडक कालोपत्र र १०६ वटा पुल निर्माण सम्पन्न भएको छ । सो आयोजनामा रूख कटान प्रक्रियामा लामो समय लागेको छ । गोरखा, नुवाकोट तथा लमजुङ जिल्लामा रेखाङ्कन लगायत समस्या परेको छ ।
मुआब्जा तथा क्षतिपूर्ति कार्यमा विवाद छभने सडक सीमा यकिन हुनसकेको छैन । उच्च प्राथमिकतामा आयोजनाको छिटोछरितो वातावरणीय प्रभाव मूल्याङ्कनलगायत विषयमा कानुनी व्यवस्था गर्नुपर्ने, सडक सीमा तोक्नुपर्ने, जग्गाको मुआब्जा वितरणमा थप सहजीकरण गर्नुपर्ने र विकास कर लगाउनुपर्ने सुझाव प्राप्त भएका छन् । तराई–मधेश हुलाकी लोकमार्ग आयोजना आव २०६६–०६७ देखि सुरू भएको हो ।
आव २०८३–०८४ मा सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको सो आयोजनाको सुरूआती लागत रू ४७ अर्ब २४ करोड रहेकामा हाल संशोधित लागत रू एक खर्ब एक अर्ब ६३ करोड बराबर पुगेको छ । एक हजार ८५७ किलोमिटर सडक तथा २५० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकामा हालसम्म भौतिक प्रगति ६६ दशमलव ९१ प्रतिशत र वित्तीय प्रगति भने ६२ दशमलव ६९ प्रतिशत बराबर छ ।
हालसम्म कालोपत्र सडक एक हजार २५९ किलोमिटर सडक र पुल तथा कल्भर्ट १४२ वटा निर्माण सम्पन्न भएको छ । सो आयोजनामा बजेटको अभाव छ । यस्तै, निकुञ्जहरूमा सडक तथा पुल निर्माणमा समस्या छ । दुम्कीबास–त्रिवेणी खण्डमा विवाद रहेको छ । उत्तर–दक्षिण कोशी करिडर लोकमार्ग आयोजना आव २०६५–०६६ मा सुरू भएको हो । आव २०८५–०८६ सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको सुरू लागत ११ अर्ब ९३ करोड बराबर थियो ।
हाल संशोधित लागत १६ अर्ब २० करोड बराबर छ । १६२ किलोमिटर सडक निर्माण तथा कालोपत्र र २३ वटा पुल निर्माण गर्नुपर्नेछ । हालसम्म भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति ३५ दशमलव ८६ प्रतिशत पुगेको छ । नेपाली सेनामार्फत १५९ किलोमिटर ट्रयाक खोल्ने कार्य पूरा भएको छ । हालसम्म आयोजनामा ७४ किलोमिटर सडक ग्राभेल गरिएको छ भने १० वटा पुल निर्माण सम्पन्न भएको छ ।
उत्तर–दक्षिण कालीगण्डकी करिडोर लोकमार्ग आयोजनाको पहिलो खण्ड (गैँडाकोट–राम्दी–मालढुङ्गा सडक) आव २०६६–०६७ मा सुरू भएको हो । आव २०८३–०८४ सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको सुरू लागत रू २० अर्ब बराबर रहेकामा संशोधित लागत रू २५ अर्ब बराबर पुगेको छ । कुल २९३ किलोमिटर सडक कालोपत्रस्तरमा निर्माण तथा स्तरोन्नति गर्ने लक्ष्यका साथ सुरू भएको सो आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ६१ प्रतिशत बराबर छ ।
हालसम्म १९१ किलोमिटर कालोपत्र र ३४ वटा पुल निर्माण सम्पन्न भएको छ भने सात वटा पुल निर्माणाधीन छ । यस्तै, उत्तर–दक्षिण कालीगण्डकी करिडर लोकमार्ग आयोजनाको दोस्रो खण्ड (बेनी–जोमसोम कोरला सडक) आव २०७३–०७४ मा सुरू भएको हो । आव २०८२–०८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको सुरूआती लागत रू १० अर्ब बराबर रहेकामा हाल संशोधित लागत रू १५ अर्ब बराबर पुगेको छ ।
२०२ किलोमिटर सडक कालोपत्रस्तरमा निर्माण तथा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा हालसम्म भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत बराबर छ । मन्त्रालयका अनुसार हालसम्म कालोपत्र सडक ६१ दशमलव पाँच किलोमिटर, ग्राभेल १२७ किलोमिटर र १० वटा पुल निर्माण सम्पन्न भएको छ । उत्तर–दक्षिण कर्णाली करिडर लोकमार्ग आयोजना पनि राष्ट्रिय गौरवमा समावेश छ ।
आव २०६५–०६६ मा सुरू भएको सो आयोजनाको सम्पन्न गर्नुपर्ने मिति यकिन भइसकेको छैन । कुल लागत १२ अर्ब रहेको छ । १२३ किलोमिटर सडक कालोपत्रस्तरमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा हालसम्म भौतिक प्रगति तीन प्रतिशत र वित्तीय प्रगति दुई दशमलव सात प्रतिशत बराबर छ । सो सडकखण्डको खुलालुबाट सलिसल्लासम्म १२३ किलोमिटर नेपाली सेनाबाट ट्रयाक खुलेको छ ।
त्यस्तै उत्तर–दक्षिण कर्णाली करिडोर लोकमार्ग आयोजना हिल्सा–सिमीकोट सडक आव २०६९–०७० सुरू भएको हो । आव २०८३–०८४ सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको आयोजनाको सुरू लागत चार अर्ब १० करोड ५० लाख ३० हजार बराबर रहेकामा संशोधित लागत १५ अर्ब (कालोपत्र स्तरोन्नतिसमेत) पुगेको छ ।
कुल १४६ किमी सडक निर्माण तथा स्तरोन्नति गर्ने १० वटा पुल निर्माण लक्ष्य राखिएकामा हालसम्म भौतिक प्रगति ३१ प्रतिशत र वित्तीय प्रगति २६ दशमलव ५७ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार १४५ दशमलव दुई किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । त्यसमा ११ किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाबाट भएको हो । यस्तै १५ दशमलव पाँच किलोमिटर ग्राभेल तथा दुईवटा पुल निर्माण सम्पन्न भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं