सूचनाको शक्ति - The Power Of Information

        

आन्तरिक पर्यटकको रोजाइमा शे-फोक्सुण्डो

हाल डोल्पाको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे-फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ । गत साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार ६३२ पर्यटक फोक्सुण्डो ताल क्षेत्रमा आएका छन् ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक आउने क्रम जारी छ । बितेका पाँच महिनामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्र र अन्य राष्ट्रका गरी ३२६ जना पर्यटकले शे-फोक्सुण्डो घुमेका र त्यसबाट १० लाख ५३ हजार रूपैयाँ राजस्व संकलन भएको उनले बताए ।

चालु आर्थिक वर्षको सुरुदेखि कात्तिकसम्म वन पैदावार बिक्री, पर्यापर्यटन, दण्ड सजाय लगायत शीर्षकबाट रु ६५ लाख ७० हजार ६८८ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ । फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, शे-गुम्बा, धो तरापजस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले केही वर्षयता आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका-१ का लक्ष्मण देवकोटाले नेपालगन्ज-डोल्पा उडान नियमित गरेमा, भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटलको व्यवस्था भएमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुने बताए । व्यापार, व्यवसाय प्रवर्द्धनका हिसाबमा डोल्पालीलाई विदेशीभन्दा स्वदेशी पर्यटक आउँदा फाइदा हुने सदरमुकाम दुनैका होटल व्यवसायीहरू बताउँछन् । नेपालगन्ज-सुर्खेत-जाजरकोट-रुकुम हुँदै मोटरसाइकल र गाडीमा सजिलै दुनैसम्म पुग्न सकिने भएकाले पनि विमानमा भन्दा अघिकांश पर्यटक मोटरसाइकल चढेर यहाँ आउने गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १८:५५

लोकप्रिय