सूचनाको शक्ति - The Power Of Information

        

व्यावसायिक केरा खेतीमा जमेका उपाध्याय भन्छन्, ‘पहिलेजस्तो आम्दानी छैन’

खजुरा गाउँपालिका–३ बीगाउँ वागमतीनगरका किसान हरिप्रसाद उपाध्यायले गरेको केराखेती ।

बाँकेको खजुरा गाउँपालिका वडा–३ बीगाउँ वागमतीनगरका किसान हरिप्रसाद उपाध्यायले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन् । पहिला १० बिघा क्षेत्रफल जग्गामा केरा खेती गर्दै आएका उपाध्यायले हाल घटाएर तीन बिघा क्षेत्रफल जग्गामा केरा खेती गर्दै आएको बताए ।

‘मैले २०७३–०७४ सालदेखि व्यावसायिक रुपमा केरा खेती सुरु गरेँ । १० बिघा क्षेत्रफल भएको जग्गा भाडामा लिएर केरा लगाएको थिएँ, सुरु सुरुमा अति नै राम्रो आम्दानी पनि भयो,’ उनले भने, ‘पहिला प्रदेश सरकारले पनि सहयोग गरेको थियो, पछि अन्य ठाउँबाट सहयोग नभएपछि अहिले तीन बिघा मात्र केरा खेती गरेको छु ।’

लुम्बिनी प्रदेश सरकारले २०७५–०७६ मा उत्पादन भएको केरालाई भण्डारण गर्न अनुदानमा भण्डारण गोदाम बनाइदिएको उनले बताए । ‘उत्पादन भएको केरालाई भण्डारण गर्न प्रदेश सरकारबाट अनुदानमा भण्डारण गोदाम बन्यो, उत्पादन भएको केरालाई भण्डारण गर्न सहज भयो,’ उनले भने, ‘पछि अन्य ठाउँ कतैबाट पनि प्रोत्साहन हुने गरी सरसहयोग मिलेन, एक्लै सबै कुरा व्यवस्थापन गर्न गाह्रो हुँदै गयो र तीन बिघामा मात्र खेती गर्न थालेँ ।’

उपाध्यायको फार्ममा अहिले १५ सयभन्दा बढी ठुलो केराका बोट छन् भने तीन हजार सानो बोट हुर्कने क्रममा छन् । ठूलो केराका बोटलाई गत जेठ महिनामा परेको असिनाले धेरै क्षति गरेको उनले बताए । ‘तीन हजारजति ठूलो केराको बिरुवा लगाएकोमा अहिले १५ सय जति होलान्, जेठमा आएको असिनाले गर्दा ठूलो क्षति भयो,’ उनले भने, ‘त्यतिबेलाको क्षति अझै थेग्न गाह्रो भइरहेको छ ।’

उपाध्यायले केही भारतको बारबङ्की र केही नवलपरासीको कावासोतीबाट जी–९ जातको केराको बिरुवा ल्याएर लगाएको बताए । ‘बिरुवा पाउन पनि मुस्किल छ, भारतको बारबङ्की र नवलपरासीको कावासोतीबाट जी–९ जातको बिरुवा ल्याएर लगाएँ,’ उनले भने, ‘भारतबाट बिरुवा ल्याउँदा भन्सार पनि नहुँदो रहेछ ।’ बिरुवा रोपेको १५–१६ महिनापछि केराले उत्पादन दिने उनले बताए ।

‘बिरुवा रोपेको १५–१६ महिनापछि केराले उत्पादन दिन सुरु गर्छ, बोटमा २१ वटा पात भएपछि पसाउने रहेछ,’ उनले भने, ‘एउटै केराबाट तीन पटकसम्म फल उत्पादन हुन्छ, केराको घरी काटिसकेपछि त्यसको पनि काट्छौँ, पात काटेको रुख कुहिँदै सड्दै जान्छ, त्यसको फेँदबाट अर्को बिरुवा जन्मिन्छ र त्यसले पनि फल दिन्छ र अर्को पटक समेत यही प्रक्रिया हुन्छ ।’

पहिला पहिला नेपालगन्जस्थित भाटभटनीसँग सम्झौता गरेर केरा दिने गरेको भए पनि अहिले भने सबै उत्पादन भएको केरा स्थानीयस्तरमै खपत भइरहेको उनको भनाइ छ । ‘पहिला भाटभटेनीलाई पनि केरा दिने गरेको थिएँ, अहिले गाउँबाटै उत्पादन भएको सबै केरा खपत भइरहेको छ,’ उनले भने, ‘गाउँमा पूजाआजा हुँदा मर्दापर्दा, चाडवाडमा केराको माग हुने गरेको छ, सबै केरा यहीँ नै खपत हुन्छ ।’

पाकेको केरा ६० रुपैयाँ र काँचो केरा ५० रुपैयाँ दर्जनका दरले बिक्री भइरहेको उनले बताए । एक जना सम्पूर्ण प्राविधिक ज्ञान भएको कर्मचारी मासिक रुपमा र आवश्यक परेको बेलामा ५–६ जना स्थानीयले दैनिक ज्यालादारीमा काम गर्ने गरेको उनले बताए । ‘म, श्रीमती र छोरा यसै व्यवसायमा पूर्णरुपमा खटेका छौँ, एक जना प्राबिधिक ज्ञान भएका मासिक रुपमा हुनुहुन्छ, आवश्यक परेको बेलामा ५–६ जना स्थानीयले दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ ।’

सुरुमा यस व्यवसायबाट राम्रो आम्दानी हुने गरेको भए पनि पछिल्लो समय त्यति राम्रो नभएको उनको भनाइ छ । ‘मैले खेती सुरु गरिसकेपछि अर्को एक जनाले पनि केरा खेती सुरु गर्नुभयो, पछि उहाँ टिक्न सक्नुभएन । यो गाउँपालिकाभरि म मात्र हुँ एक जना व्यावसायिक केरा खेती गरिरहेको, गाह्रो छ,’ उनले भने, ‘अब म पनि बिस्तारै कम गर्दैछु, पहिला धेरै राम्रो आम्दानी थियो, अहिले पहिलाजस्तो छैन ।’

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार ०५:३६

लोकप्रिय