सूचनाको शक्ति - The Power Of Information

        

कालीगण्डकीले जग कटान गरेपछि रानीमहल जोखिममा

कालीगण्डकी नदीको बहावले जगमा रहेको चट्टान काटेर भ्वाङ पार्दै गएपछि रानीमहल जोखिममा परेको छ । आइतबार पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरेको नेतृत्वमा जनताको तटबन्ध कार्यालय बुटवलका प्रमुख शम्भुराज पण्डित र इन्जिनियरले जोखिममा परेको रानीमहलको जगको अवस्था अवलोकन गरेका हुन् ।

यसको मर्मतका लागि संघीय सरकारबाट एक करोड बजेट विनियोजन भएको सांसद गैरेले बताए । ‘कामको थालनी गर्न तत्काल एक करोड बजेट विनियोजन भएको छ’, उनले भने, ‘जोखिम रोक्ने उपायबारे खोजी गरिनेछ । पूर्णरूपमा मर्मतका लागि आवश्यक थप बजेटका लागि पहल गर्नेछु ।’ यसको मर्मत नसके कुनै दिन रानीमहल ढल्ने उनले बताए ।

यसको संरक्षण र संवर्धन गर्न संघ, प्रदेश, स्थानीय सरकार र पुरातत्त्व विभाग मिलेर काम गर्नुपर्ने गैरेले सुझाए । पानीको सतह घटेपछि यसको थप अवस्था पत्ता लगाउने र मर्मत गरिने तटबन्ध कार्यालय बुटवलका प्रमुख शम्भुराज पण्डितले बताए । ‘माघको अन्तिमतिर सम्बन्धित विज्ञसहित कालीगण्डकी नदीले कटान गरेको ठाउँको थप अवस्था बुझ्नेछौँ’, उनले भने, ‘लगत्तै टेण्डर प्रक्रियामा गएर काम शुरु गर्नेछौं ।’

कालीगण्डकीले जग कटान गर्दा रानीमहलको छेउतर्फको भाग भासिएको छ । समयमा मर्मत नगरे रानीमहल नै जोखिममा पर्ने पण्डितले बताए । पुरातत्त्व विभागसँग समन्वय गरेर जग संरक्षण तथा मर्मत गरिने उनले बताए । करिब तीन वर्षअघि गोताखोरको टोली बोलाएर पानीले कटान गरेको भ्वाङको अवस्थाबारे बुझिएको थियो । रानीमहलको जग करिब ५ मिटर कटान गरिसकेको गोताखोरको टोलीले बताएको थियो ।

समयमै मर्मत नहुँदा रानीमहल कुरूप

समयमै मर्मत नहुँदा रानीमहल कुरूप बनेको छ । यहाँ आउने पर्यटक निराश बनेका छन् । तानसेन नगरपालिकाले समयमै मर्मत नगर्दा रानीमहलको स्वरूप कुरूप बन्दै गएको छ । रानीमहलमा आएका पर्यटकबाट वार्षिक ५० लाखभन्दा बढी राजस्व उठे पनि रानीमहलको भित्तामा रंग नलगाउँदा कालै भएको छ । स्थानीय सरकारले समय समयमा मर्मत गर्नुपर्ने सांसद गैरेले बताए । तानसेन नगरपालिकाले मर्मतसम्भारमा ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । यहाँ संकलन गरेको राजस्वले रानीमहलको मर्मतमै खर्चिनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार १५:४८

लोकप्रिय