स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् । खोप लगाउनेबारे मंगलबार मन्त्रीस्तरीय निर्णय भएको हो ।
आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसरमा देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । अभियान १५ दिनसम्म चल्नेछ । यो निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९०० किशोरी लाभान्वित हुने मन्त्रालयको भनाइ छ ।
हाल नेपालमा दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले समेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं