सूचनाको शक्ति - The Power Of Information

        

खेतमै कुहियो आलुको बीउ, किसान चिन्तित

डुडुवा-६ हिरमिनियाका किसान वंशीलाल मौर्यले आलुको बीउ लगाएको खेत ।

बाँकेको डुडुवा गाउँपालिकाका किसान अहिले इन्तु न चिन्तु बनेका छन् । बेमौसमी वर्षातका कारण खेतमा राखेको लाखौँको आलुको बीउ कुहिँदा त्यहाँका किसानहरू चिन्तित बनेका हुन् । गत १९ गते अकस्मात् परेको बेमौसमी वर्षातका कारण वडा नं.६ का किसानले ३०० हेक्टर बढी जमिनमा लगाएको आलुको बीउ कुहिँदा उनीहरू पीडित बनेका छन् ।

आलुको बीउ कुहिँदा किसानहरूको करिब एक करोड रुपैयाँ लगानी खेर गएको अनुमान छ । डुडुवा ६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बीउ वर्षा कुहिँदा लाखभन्दा बढी रुपैयाँको घाटा व्यहोरेको बताए । ‘तिहारको भोलि पटक १९ गतेका दिन अकस्मात् पानी पर्यो, पानी आलु लगाएको खेत भरी जम्यो, पानी जमेकाले बीउ उम्रिएन, सबै कुहियो,’ मुराउले भने, ‘मेरो एक लाख ३५ हजार रुपैयाँ रकम खेर गयो ।’

आलुको बीउ लगाएको १८ दिन भएको भन्दै उनले भने, ‘आलु लगाएको आज १८ दिन पुगिसक्यो, लगभग १४–१५ दिनमा आलु उम्रिने गर्छ, एउटा पनि टुसाएको छैन, खनेर हेर्दा बीउ सबै कुहिएको छ,’ मुराउले भने, ‘आलु त कुहियो कुहियो, अब हिउँद भरी जमिन बाँझो हुने चिन्ताले सताएको छ, फेरी आलु लगाऊँ भने समय मिल्दैन, यो खेतमा फागुनमा मात्र चैते मकै छर्ने हो, तबसम्म खेत बाँझो हुने भयो ।’

आलु मात्र उत्पादन नगरेर आलुको बीउसमेत उत्पादन गर्दै आएका अर्का किसान वंशीलाल मौर्यले बर्षातले गर्दा ठुलो क्षति व्यहोर्नु परेको बताए । ‘मैले करिब ४० देखि ४५ विगाह क्षेत्रफल जग्गामा आलु लगाउँदै आएको छु, आलुको बीउ मात्र उत्पादन गर्नका लागि दुई विगाहा पाँच कट्ठा जमिनमा बीउ लगाएको थिएँ । खेतमा पानी जमेका कारण सबै नष्ट भयो, यो वर्ष निकै ठुलो क्षति व्यहोर्नुपर्यो ।’

‘छ हजार रुपैयाँ क्विन्टलका दरले बीउ खरिद गरेर लगाएको आलु कुहिँदा मैले मात्र लाखौँ रुपैयाँको क्षति व्यहोरेँ, मल, मजदुरी त कता गयो गयो,’ मौर्यले भने, ‘लगाएको १६–१७ दिन पुगेको छ, माटोमुनि कुहिएको अवस्थामा बीउ छ, चिसो खेतमा केही लगाउन मिल्दैन, चिस्यान सकियो भने त्यो ठाउँमा अन्य केही बाली लगाउनुपर्ला, यो वर्ष आलु खेती सकियो ।’

डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलु खेती नष्ट भएर अन्दाजी करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको बताए । ‘हाम्रो वडा आलुलगायत तरकारीको पकेट क्षेत्र हो, यहाँका सबै किसानले तरकारी खेती गर्नुहुन्छ, बेमौसमी वर्षात्ले गर्दा ७० प्रतिशत किसानको आलुलगायत धान बालीमा क्षति पुगेको छ,’ वडाध्यक्ष मिश्रले भने, ‘३०० देखि ३५० हेक्टरमा लगाएको आलु खेती नष्ट भयो, वडामा सानातिना किसानले पनि आलु खेतीमा कम्तीमा दुईदेखि तीन लाख रुपैयाँसम्म लगानी गरेका छन् ।’

वडाध्यक्ष मिश्रका अनुसार हरेक किसानले एक कट्ठा जमिनदेखि लिएर ५० विगाहभन्दा बढी जमिनमा आलु खेती गर्ने गरेका छन् । ‘अब आलुको बीउ कुहिएर उम्रिएन, यसले गर्दा कोल्ड स्टोरलाई पनि धक्का लागेको छ, आलु फलेर उत्पादन भइसकेपछि यहाँका किसानहरूले बीउका लागि कोल्ड स्टोरमा एक हजार क्विन्टल बढी आलु राख्ने गर्दथे,’ उनले भने, ‘कोल्ड स्टोर खाली हुने भयो, अर्को वर्ष आलुको बीउ पाउन मुस्किल हुने देखिएको छ ।’

वडाका भङ्गोटना, चौधरीपूर्वा, उधुमगन्ज, कालाबन्जार, मुन्सी पूर्वा, बल्दी पूर्वा, अहिरापुर, अट्वारीपूर्वा, हिरमिनिया लगायतका गाउँमा ठुलो क्षति पुगेको उनले बताए । ‘आलु लगाएका किसानले आलु उत्पादन भइसकेपछि त्यो जग्गामा मकै लगाउने र मकै उत्पादनपछि धान रोप्ने गर्दथे तर अब उत्पादन सर्कल नै बिग्रियो,’ मिश्रले भने । आलु मात्र नभएर वडामा धानको समेत ठुलो क्षति भएको उनले बताए ।

क्षति भएको धान बालीको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिकाबाट परिपत्र भएको र तथ्याङ्क सङ्कलन कार्य पनि सुरु गरिएको तर आलु खेतीका बारेमा कहीँ कतैबाट केही प्रक्रिया नढेका कारण सरकारसँग किसानको क्षति भएको आलु खेतीको क्षतिपूर्ति दिनका लागि उनले माग गरे । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेले पानीका कारण अन्य स्थानमा भन्दा डुडुवा ६ का किसान बढी पीडित भएको पाइएको बताए ।

‘पानीका कारण अन्य ठाउँमा भन्दा त्यहाँका किसानलाई ठुलो क्षति भएको पाइयो, हामी पनि अनुगमनका गएका थियौँ, त्यहाँका किसानको धान बालीमा समेत क्षति पुगेको छ,’ उनले भने, ‘हामीसँग अहिले नै किसानलाई राहत दिने कुनै कार्यक्रम छैन, स्थानीय तहले धानको क्षतिका बारेमा तथ्याङ्क सङ्कलन गर्दैछन्, आलुका बारेमा के गरेका छन् जानकारी छैन ।’ आलु खेती प्रभावित क्षेत्रका किसानलाई आगामी योजनामा विशेष कार्यक्रम बनाएर हाल्ने सोच बनाएको उनको भनाइ छ । उक्त वडा बाँके जिल्लामै बढी तरकारी उत्पादन हुने क्षेत्र हो । सो क्षेत्रलाई तरकारी पकेट क्षेत्रै घोषणा गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ०९:५३

लोकप्रिय