सूचनाको शक्ति - The Power Of Information

        

लुक्लामा एकैदिन १८४ उडान, झण्डै ४०० विदेशी पर्यटक भित्रिए

सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा शुक्रबार एकैदिन १८४ वटा हवाई उडान भएको छ । उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी १८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै आज हेलिकप्टरले १५२ तथा जहाजले २३ वटा उडान भरेका हुन् ।

जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२–१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए । शुक्रबार हवाई सेवाबाट मात्रै ३९६ जना विदेशी र १३६ जना नेपाली गरी कूल ५३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार उक्त सङ्ख्यामा पर्यटक भित्रिँदा ३३६ जना विदेशी र १२६ जना नेपाली गरी कूल ४६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन् । नाम्चेबाट शुक्रबार ४७५ जना विदेशी पर्यटक उकालो लाग्दा ३०३ विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्याङ्क छ ।

‘सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ तर चिसो मौसम सुरु भएकाले फर्किने क्रम पनि त्यतिकै रहेको छ,’ सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने । चिसो सुरु भएसँगै खुम्बुबाट बाहिरिने पर्यटक बढ्दै गएको छ । मङ्सिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिनेसँगै बाहिरिनेको सङ्ख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १०:४१

लोकप्रिय