हाल देशभर पश्चिमी र स्थानीय वायुका साथै बंगलादेश र भारतको आसामको आकाशमा विकसित न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ । जसका कारण आज तीन वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो कोशी र वागमतीका केही, गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडी इलाकाका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, कोशी, वागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगका थोरै तथा बाँकी उच्च पहाडी तथा हिमाली इलाकाका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा एवं उच्च पहाडी र हिमाली इलाका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।
एक सातापछि चिसो बढ्ने सम्भावना
अब एक सातापछि काठमाडौँ उपत्यका लगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन् ।
‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारेखपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ,’ उनले भने, ‘कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।’
चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरो लगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं