सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार ९०२ जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट रु दुई करोड तीन लाख ४८ हजार ५५३ राजश्व सङ्कलन भएको छ ।
लुक्लादेखि सगरमाथाको आधार शिविरसम्म पर्यटकीय चहलपहल बढ्दो छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका तथ्याङ्क छ । हाल आन्तरिक र विदेशी पर्यटकले अन्नपूर्ण आधार शिविर भरिभराउ छ । त्यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।
उनका अनुसार दसैँपछि मात्रै यहाँ करिब तीन हजार पर्यटकले आधार शिविरको भ्रमण गरेका छन् । अहिले मुख्य पर्यटकीय याम चलिरहेकाले पनि देशभरका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बाक्लिएको हो । पदयात्रा र पर्वतारोहणका लागि शरद ऋतु उपयुक्त मानिन्छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण र पदयात्रामा सबैभन्दा धेरै विदेशी पर्यटक आउने गरेका छन् । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यस याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।
मुख्य पर्यटकीय सिजन तथा दसैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकले विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र, खुम्बु, मनास्लु, लाङ्टाङ लगायत गन्तव्यमा पुगेका छन् । अन्य पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो छ । नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ ।
यतिखेर धेरै आरोहीहरू पर्वतारोहणका लागि नेपाल आएका छन् । मनास्लु, अमादब्लम, अन्नपूर्ण लगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यको मज्जा लिइरहेका छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेरा झैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ ।
खुम्बु, अन्नपूर्ण लगायत गन्तव्यका होटलहरूमा पर्यटक खचाखच छन् । पोखरा, चितवन, लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । काठमाडौँ उपत्यका आसपासका नगरकोट, धुलिखेल लगायत गन्तव्यका होटलहरू भरिभराउछन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को नौ महिनामा अर्थात् वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
समग्रमा अघिल्लो वर्ष सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ भन्दा चार प्रतिशतले पर्यटक आगमन बढेको छ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्र चलायमान बनिरहेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा मर्मतको कामले उडान कटौती हुने हुँदा पर्यटन क्षेत्रलाई असर पर्नसक्ने सम्भावना औँल्याए ।
यसैबीच, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

उनका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिए । बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब ३०० पर्यटक रहेको उनले बताए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ ।
सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानवपाईला परेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।
मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विस २०६८ मा यस पदमार्गको पहिचान गरिएको थियो । तत्पश्चात् पदमार्ग, आश्रयस्थललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि ठूलो सङ्ख्यामा पर्यटकको आगमन भइरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको भनाइ छ ।
‘पर्यटकको आगमन बढेको छ, हुमखोलादेखि आधार शिविरसम्मको दुई दिनको पदयात्रामा होटल सुविधा नभएकाले हामीले सामुदायिक लज बनाउने अवधारणा अघि सारेका छौँ, त्यसको लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढेको छ, मन्त्री परिषद्कै निर्णय आवश्यक पर्ने भएकाले तिहारलगत्तै सङ्घीय सरकारमार्फत निर्णय गराउन पहल गर्छौँ,’ उनले भने । गाउँपालिकाले गतवर्ष अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिसकेको छ ।
गुरुयोजना अनुसार आधार शिविर र भुसकेट मेलामा लज बनाउन चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको र त्यसको लागि जग्गा व्यवस्थापनको पहल थालिएको गाउँपालिका अध्यक्ष पुनले बताए । यस पदमार्गअन्तर्गत पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ ।
सडकको पहुँच पुगेको हुमखोलासम्म होटल सुविधा रहे पनि त्यहाँदेखि आधार शिविरसम्म होटल, लजको सुविधा नभएकाले पर्यटक आफैँले खाना बस्नको लागि बन्दोबस्त मिलाएर जानुपर्ने बाध्यता छ । आधार शिविरमा आरोही टेन्ट टाँगेर बस्छन् भने शिविरमै रहेको आश्रयस्थलले आन्तरिक पर्यटकका लागि बास बस्न सहज बनाइदिएको छ । पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, संधिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढु्ङ्गा र आधार शिविरमासमेत आश्रयस्थल निर्माण भएको छ । ठाउँठाउँमा खोला वारपार गर्न झोलुङ्गे पुलनिर्माण भएका छन् ।
आधार शिविर र पदमार्गको व्यवस्थित पूर्वाधार निर्माण गर्न गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढेको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पर्यटन प्रवर्द्धन गर्न अभियान नै सञ्चालन गरिरहेको जनाएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
पर्यटकको आगमनलाई थप वृद्धि गर्दै पर्यटन विकासका लागि पालिकाले पदमार्गलाई थप स्तरोन्नति गर्ने, सञ्चार, खानेपानी लगायत सुविधाको पहुँच विस्तार गर्ने योजना अघि सारेको गाउँपालिका उपाध्यक्ष क्षदिवाकुमारी तिलिजापुनले बताए । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्ने अभियान सार्थक बन्दै गएको उनको भनाइ छ ।
पिताको आरोहणमार्ग पछ्याउँदै माथिएस आधारशिविरमा
अन्नपूर्णमा पहिलो मानवपाइला टेक्ने मौरिस अर्जोगका छोरा माथिएस पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण आधार शिविरमा पुगेका छन् । अन्नपूर्ण हिमालको पहिलो आरोहण गरेर कीर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही हर्जोगका छोरा माथिएस बुबाले आरोहण गरेको पदमार्ग हुँदै आरोहण आधार शिविर पुगेका हुन् । ७५ वर्षअघि पिता हिँडेको मार्ग हुँदै शनिबार उनी त्यही ठाउँहरूमा पुगेर फर्किभएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिए ।
माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड तालनजिक राखिएको पितामौरिसको सालिकमा माल्यार्पणसमेत गरेका थिए । आगामी सन २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुने र त्यस अवसरमा माथिएसले ८२ वर्षीया आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताए । माथिएसले आफ्नो बुबाले आरोहण गरेको ठाउँमा आउन पाउँदा आफूलाई गौरबको अनुभूति भएको बताएका थिए ।
पिताले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपाली लगायत अन्य भाषाहरूमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताएका छन् । सर्वोच्च शिखर सगरमाथामा मानवपाइला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा मौरिससहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरणसमेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड तालन जिकमौरिसको सालिकसमेत राखेको छ ।