सूचनाको शक्ति - The Power Of Information

        

नेपाललाई हराउँदै बंगलादेशलाई साफ महिला च्याम्पियनसिपको उपाधि

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेको छ । उपाधि रक्षा गर्ने क्रममा १५ हजार घरेलु दर्शकलाई २–१ ले स्तब्ध पार्दै पाहुना टोली बंगलादेश च्याम्पियन बनेको हो ।

नेपाल साफ फाइनलमा छैटौं पटक स्तब्ध बन्दा बंगलादेशले लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो । रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा दुबै टिमले गोलको खाता खोलेका थिए ।

तर बंगलादेशले निर्धारित समयको ९ मिनेट बाँकी रहँदा गरेको गोल नेपाललाई पुनः एक पटक फाइनलमा स्तब्ध बनाउन पर्याप्त रह्यो । खेलमा बंगलादेशले दोस्रो हाफको सुरवातमै अग्रता लिएको थियो ।

मोनिका चक्काले ५२ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा गोल गर्दै खेलमा बंगलादेशलाई अग्रता दिलाइन् । तर खेलमा नेपाल फर्किन सफल भयो । नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा प्रिति राइको पासलाई सदुपयोग गर्दै खेललाई १–१ को अवस्थामा ल्याएकी थिइन् ।

तर बंगलादेशले खेलको ८१ औं मिनेटमा पुन अग्रता बनायो । बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो । उक्त गोल नेपाललाई निरास बनाउन पर्याप्त बन्यो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार ०५:१९

लोकप्रिय