सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा डेंगु सङ्क्रमण बढ्दो, ३४८ जना सङ्क्रमित

भारतसँग सिमाना जोडिएको बाँके जिल्लामा ३४८ जना डेंगुबाट सङ्क्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बाँकेमा पछिल्लो समयमा डेंगुबाट सङ्क्रमित हुनेहरू निरन्तर बढ्दै गएको जनाउँदै गत तीन महिनामा मात्र ३४८ जनालाई डेंगु सङ्क्रमण भएको बताइन् ।

चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि असोज मसान्तसम्म ३४८ जना डेंगुबाट सङ्क्रमित भएपछि अवस्था अति नै गम्भीर बन्दै गएको देखिएको जनाउँदै किटजन्य रोग फोकल पर्सन गौतमले यस्तै रहे अवस्था भयावह बन्न सक्ने बताइन् ।

जिल्लामा गत आर्थिक वर्ष २०८०–०८१ मा वर्षभरि गरेर ३९४ जना डेंगी सङ्क्रमित फेला परेको जनाउँदै स्वास्थ्य कार्यालयले यस वर्ष भने यो सङ्ख्या दोब्बर भन्दा बढी पुग्ने देखिएको बताए । लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको सङ्क्रमण बाँकेमा भने चालु आर्थिक वर्षमा अस्वाभाविक ढङ्गले बढेको देखिएको छ ।

किटजन्य रोग फोकल पर्सन गौतमका अनुसार सङ्क्रमित ३४८ नामध्ये १९५ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने अरू अन्य सात पालिकाका सङ्क्रमित छन् । उनले पालिकामा भएका अन्य सङ्क्रमितहरूको तथ्याङ्क पुष्टि गर्ने काम भइरहेको पनि बताए ।

डेंगुबाट सबैभन्दा बढी प्रभावित नेपालगन्ज उपमहानगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यहरू गरिरहेको नेपालगन्ज उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको चन्दले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले डेंगु नियन्त्रण अति नै आवश्यक रहेको जनाउँदै त्यसका लागि सबै उपाय अपनाउन स्वास्थ्य महाशाखालाई निर्देशन दिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले डेंगु रोग नियन्त्रणका लागि राम्रो उपचारसँगै समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेकोले सोही बमोजिम गर्ने काम भइरहेको बताएका छन् ।

डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बास स्थान खोजी गरी लार्भा र प्यूपा नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा विशेष फोकस गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार १५:३३

लोकप्रिय