सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट दुई पटक ऋण लिएको भेटिएको छ ।
जीबी जोडिएका अन्य सहकारीमा पनि रविको नाममा रकम अपचलन भएको हुन सक्ने भएकाले रवि तत्काल हिरासतमुक्त हुने सम्भावना निकै न्युन रहेको अनुसन्धान अधिकृतहरुले बताएका छन् । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएसँगै रकम अपचलनबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाउँदा उक्त ऋण लिएको प्रमाण भेटिएको जनाइएको छ ।
यसअघि रवि नै गृहमन्त्री हुँदा छानबिन प्रक्रिया रोकिए पनि अहिले संसदीय छानबिन समितिले नै रविलाई दोषी देखाएपछि स्वर्णलक्ष्मीको फाइल फेरि खुलेको हो । प्रहरी वृत्त कालिमाटीको फाइल जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर छानबिन अगाडि बढाइएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि जीबी राई नै हुन् ।
जीबी राई रविका गोर्खा मिडिया प्रालिका साझेदार हुन् । जीबी राई अहिले फरार छन् । उनीविरुद्ध इन्टरपोललेसमेत रेड नोटिस जारी गरिएको छ । मलेसियामा रहेका जीबीलाई काठमाडौं ल्याउन प्रहरी असफल भइरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जीबी र रविले संयुक्त नाममा ऋण लिएका हुन् ।
२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ । फोर ह्विलर लोन बापत ४६ लाख ९८ हजार लिएको तर ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ । त्यस्तै ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ ।
रविको समेत नाम भएका तीन दर्जन थान भौचरसमेत प्रहरीले बरामद गरेको छ । स्वार्णलक्ष्मीबाट एक अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सो प्रकरणमा जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । रवि लामिछानलाई गत कार्तिक २ गते काठमाडौँमा पक्राउ गरी ३ गते बिहान पोखरा पुर्याइ कास्की प्रहरीको जिम्मा लगाइएको थियो ।
कास्कीको सहकारी ठगीमा उनलाई कास्कीले समातेको हो । उनलाई समय थपेर कम्तीमा १९ गतेसम्म कास्की प्रहरीको हिरासतमै बस्नुपर्नेछ । २० गतेमात्र जिल्ला अदालतमा लगिने छ । रविलाई रुपन्देही जिल्ला प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ । रविमाथि बुटवलको सहकारीमा पनि ठगी गरेको उजुरी छ ।
त्यस्तै काठमाडौँ प्रहरीले यसरी गहन रुपले अनुसन्धान गरेसँगै अब काठमाडौँ प्रहरीले पनि पक्राउ पुर्जी जारी गर्ने सम्भावना बढेको छ । रवि र उनका साझेदारले पाँच ओटा सहकारीबाट रकम हिनामिना पारेको आरोप छ । रवि संगै र उनकी पत्नी निकिता पौडेल पनि सहकारी घोटालामा मुछिसकेकी छन् । उनीविरुद्ध काठमाडौंमै उजुरी परेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं