सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्यमा नयाँ रेकर्ड, भारतभन्दा नेपालमा महंगो

सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले बढेको छ । योसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य यो अहिलेसम्मकै उच्च हो । मंगलबार सुनको मूल्य तोलाको एक लाख ६८ हजार ५०० रुपैयाँ थियो । आज चाँदी पनि महँगिएको छ । चाँदी आज तोलाको १५ रुपैयाँले बढेर दुई हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो चाँदीको मूल्य दुई हजार १०५ रुपैयाँ थियो । सुनको भाउले दिनदिनै नयाँनयाँ रेकर्ड बनाउन थालेपछि सर्वसाधारणले सुनको ढिक्का नै किन्न थालेका सुनचाँदी व्यवसायीले बताएका छन् । व्यवसायीहरुका अनुसार तिहारको बेला सुनचाँदीको किनबेच धेरै हुन्छ ।

सुरक्षित लगानी मानिने सुन अप्ठ्यारोमा तत्काल बेचेर नगद आर्जन गर्न सकिने हुँदा सर्वसाधारणले ढिक्का नै किन्न थालेका व्यवसायीले बताएका छन् । गत वर्षको धनतेसरका दिन दिन ७० किलो सुन बिक्री भएको थियो भने यो वर्ष ५० किलो बिक्री भएको अनुमान छ, तर, देशभरको विवरण आइसकेको छैन ।

महासंघका अनुसार मूल्य बढेकाले सुनका गरगहना खरिद गर्ने ग्राहको संख्या अध्याधिक घटेको छ भने सुनका ढिल्ला किन्नेहरु केहिमात्रामा देखिएका छन् । अहिले गहना अत्यावश्यक कामका लागि मात्र बिक्री हुन थालेको छन भने लगानी सुरक्षित गर्न पैसा हुनेले ढिक्का खरिद गर्न गरेका छन् । मंगलबार हिजो सबैभन्दा धेरै सुन बिक्री हुने दिन हो ।

तर, ५ ग्राम र २५० ग्रामको सिक्का किन्ने धेरै आए । नेपाल राष्ट्र बैंकले सुनका असर्फी बिक्री गरेपनि पर्याप्त थिएन । असर्फी नपाएपछि धेरैले सुनका ढिक्का किने । महासंघले यसपाली गहनाभन्दा ढिक्का सुनको माग बढेको बताएको छ । सोमबारको तुलनामा मंगलबार व्यापारमा सुधार आए पनि विगतको जस्तो हुन सकेन ।

विगतका वर्षमा १० हजार किलोसम्म चाँदी बिक्री हुन्थ्यो । गत वर्ष धनतेरसमा १८ सय किलो बिक्री भएको थियो । मंगलबार करिब १२ सय किलो मात्रै बिक्री भएको महासंघले जनाएको छ। धनतेरसको दिनमा सुनचाँदीका गहना, सिक्का खरिद गरेर लक्ष्मीपूजाको दिनमा पूजा गर्दा लक्ष्मी भित्रिने मान्यता छ ।

धनतेरसको दिनमा खरिद गरिएको गहना, सिक्का, मूर्ति लगायतको वस्तु लक्ष्मीपूजाको दिनमा पूजा गरिन्छ । महासंघका अनुसार अहिले सुनको दैनिक कोटा २० किलो हो । तिहारकै लागि सोमबार भने १६ किलो सुन आयात भएको थिए । बाँकी मौज्दातको सुन बिक्री भयो । अहिले भारतमा भन्दा नेपालमा सुन महंगो छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार ११:५१

लोकप्रिय