तिहार नजिकिएसँगै घरमा लगाउने झिलिमिली बत्ती किन्नेहरूको भिड बजारमा बढ्दै गएको छ । तिहारको अवसर पारेर घरमा यस्ता बत्ती जडान गर्ने प्रचलन हुँदा उक्त बत्ती किन्नेहरूको भिड इलेक्ट्रोनिक्स पसलहरुमा बढ्न थालेको हो । काठमाडौं उपत्यका लगायतका जिल्लाहरूका घरमा तिहार नजिकिएसँगै फाट्टफुट्ट बत्तीको जडान गर्न थालिसकेका छन् । अब केही दिनमै सहरका अधिकांश घर झिलिमिली बत्तीले झकिझकाउ देखिने छन् ।
तिहार लक्षित गर्दै व्यवसायीहरूले उत्कृष्ट बत्तीहरू भित्र्याई सकेको नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष कोमल पोखरेलले बताए । तर, बत्ती पर्याप्त उपलब्ध हुँदा पनि बजारमा माग भने सामान्य रहेको उनको भनाइ छ । ‘तिहारको लागि बजारमा झिलिमिली बत्ती आइसकेका छन्, तिहार सुरु हुन अझै केही समय बाँकी हुँदा अर्को हप्ताबाट बत्तीको प्रयोग र बढी कारोबार हुने अपेक्षामा व्यवसायी छन्,’ उनले भने ।
पोखरलेका अनुसार नाकामा नअड्की बत्ती आयात भएको खण्डमा तिहारको बेला बत्तीको अभाव बजारमा हुने छैन । उनले घर सजाउनका लागि बजारमा महँगा तथा सस्ता विद्युतीय सामग्री रहेको बताउँदै तिहारमा घरलाई सुहाउँदो बत्ती जडान गर्दा उपयुक्त हुने बताए । घर सजाउन प्रयोग गरिने बत्तीको अन्य महिनामा भन्दा तिहारको बेलामा सबैभन्दा बढी प्रयोग हुने गर्छ । ग्राहकहरूले पनि प्रायः तिहारमा टिपिकल बत्तीको प्रयोग गर्ने सोचमा हुन्छ ।

जसको मध्यनजर गर्दै व्यवसायीहरूले पनि सोही अनुरूपको बत्तीहरू ल्याएको पुकारा इन्टरनेशनलका प्रबन्ध निर्देशक पुकार सिग्देले जानकारी दिए । ‘घर झिलिमिली बनाउने उत्कृष्ट बत्ती बजारमा आइसकेका छन्, कस्तो बत्ती लगाउने हो, त्यो ग्राहक आफैले छनोट गर्ने विषय पनि हो, बजारमा थरीथरीका झिलिमिली बत्ती उपलब्ध भएकाले आफूलाई मनपर्ने बत्तीको जडान गर्दा उपयुक्त हुन्छ,’ उनले भने ।
बत्ती किन्नको लागि भनेरै धेरै बजेट छुट्याउन आवश्यक नरहेको उनको भनाइ छ । बजारमा सस्तो मूल्यमै उत्कृष्ट बत्ती उपलब्ध हुँदा धेरै खर्च नलाग्ने बताउँदै सिग्देलले थोरै खर्चमा घरलाई सजाउन सकिने जानकारी दिए । ‘बत्ती किनेर आफ्नो घरमा आफै जडान गर्न सकिन्छ, पहिलाको तुलनामा केही मात्रामा बत्तीको मूल्य सस्तो छ, जसले गर्दा धेरै खर्चको डरले बत्ती जडानबाट ब्याक हुनुपर्दैन,’ उनले भने ।
कस्तो बत्तीको कति पर्छ मूल्य ?
तिहारमा प्रयोग गरिने झिलिमिली बत्तीको मूल्य विभिन्न प्रकार, साइज र गुणस्तर अनुसार फरक–फरक हुनसक्छ । स्ट्रिप लाइट, पाइप लाइट, दियो आदि बत्ती तिहारमा सबैभन्दा बढी प्रयोग हुन्छन् । सामान्यतया यस्ता बत्तीहरूको मूल्य सय रुपैयाँदेखि हजारौं रुपैयाँसम्म पर्न जान्छ । तिहारको बेला प्राय सस्तो मूल्य बत्तीमा गुणस्तर कम हुने भएकाले घर हुनेहरू महँगै बत्तीकै प्रयोग गर्न रुचाउँछन् ।

जे होस् घरको प्रकृति र साइज हेरेर पनि बत्तीको खपत हुने गर्छ, जसलाई खर्चले निर्धारण गरेको हुन्छ । बजारमा बत्तीको मूल्यमा एकरूपता नहुँदा बत्ती ठाउँ अनुसार फरक–फरक मूल्यमा निर्धारण गरी बिक्री भइरहेको हुन्छ । घरमा सजाउने बत्ती कार्टुनमा भन्दा धेरै पिसमा खरिद हुने व्यवसायीहरू बताउँछन् । विभिन्न प्रकारका झिलिमिली बत्ती प्रतिपिस बजारमा कति मूल्यमा पाइन्छन् ?
६ हजारमै घर सजिने
तिहारमा जति महँगा बत्तीको प्रयोग गरेर घर सजाउने योजना बनायो त्यति नै खर्च बढ्छ । सामान्य बत्ती प्रयोगको सहायताले पनि तिहारमा घरलाई आकर्षक तरिकाले सजाउन सकिन्छ । व्यवसायीका अनुसार तिहारको बेलामा सबै भन्दा बढी प्रयोग हुने बत्ती हो, १०० एलईडी मल्टि (५ वायर) । यो बत्ती अन्यको तुलनामा सस्तो हुने भएको यसलाई बढी मात्रामा प्रयोग भएको पाइन्छ ।
९ मिटर लामो हुने एक पिस यो बत्ती बजारमा १७० रुपैयाँसम्ममा खरिद गर्न सकिनेछ, जसको प्रयोग गरेर पनि घरलाई तिहारमा झिलिमिली बनाउन सकिने छ । कालो रङको तारमा पाइने यो बत्ती चीनबाट सबैभन्दा बढी आयात भएर आउँछ । उक्त बत्तीको प्रयोग गरेर साढे दुई तलाको घर करिव ६ हजार रुपैयाँमा सजाउन सकिन्छ ।